कैलालीमा डेंगुले महामारीको रूप लिदै
“
विष्णु जोशी, धनगढी । महामारीका रूपमा फैलिएको डेङ्गु रोग कैलालीमा पनि महामारीको रूप लिन थालेको भन्दै रोकथामको अभियान चलाउन चिकित्सकहरुले अनुरोध गरेका छन् । एक हप्ताको अवधिमा १२ जनामा डेगुंको संक्रमण भेटिएपछि चिकित्सकहरुले सुझाव दिएका हुन् । असोजको अन्ततिर धनगढीमा उपचारका लागि आएका बिरामीहरु मध्ये १२ जनामा डेगुंको संक्रमण देखिएको हो ।
उनीहरू मध्ये अधिकांश स्थानियहरु रहेका छन् । यस अघिका वर्ष भारतबाट आएका नेपालीहरुमा डेगुं फेला परेकाे भए पनि यस वर्ष फेला परेका १२ जना मध्ये ६ जना नेपालमै रहेका व्यक्तिमा डेंगु फेला परेकाे हाे । डेंगु महामारीकाे रूपमा फैलिने खतरा बढेको सेती अञ्चल अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर सुभेषराज कायस्थले बताए । उनले नियन्त्रणका लागि विशेष अभियान थाल्नुपर्ने सुझाव दिएका छन् ।
दिनानुदिन डेगुंका बिरामीको सङ्ख्या बढ्दै जाँदा स्थानीय त्रसित बनेका छन् । विशेष गरी बजार क्षेत्र आसपासका बासिन्दामा डेगुं संक्रमणको सङ्ख्या बढेको छ । डेंगु रोगको संक्रमण दिनानुदिन बढ्दै गएकाले डेंगुको लार्भा खोजेर नष्ट गर्नु नै अहिले नियन्त्रणको सबैभन्दा उत्तम उपाय रहेको वरिष्ठ फिजिसियन डाक्टर कायस्थले बताए । एक सातामै १२ जनामा डेगुंको संक्रमण देखिएपछि जनस्वास्थ्य कार्यालय कैलालीले जिल्ला स्थित सरोकारवालाहरुबिच अन्तक्रिया कार्यक्रम समेत गरेको छ ।
यसका साथै मंगलवारदेखी डेगुं रोग नियन्त्रणका लागि सर्च एण्ड डिस्ट्रोय अर्थात् खोजेर नष्ट गर अभियान सञ्चालन गरिने वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाईले जानकारी दिए । उनले डेंगु सार्ने लामखुट्टेले कुनै पनि भाँडा, टायर, टिनको बट्टा र प्लास्टिकका टुक्रामा जमेको पानीमा लार्भा हुर्काउँछ, त्यसैले यस्ता भाँडामा पानी जम्न नदिन सबैमा आग्रह गरेका छन् ।
“