अख्तियारको फन्दामा यि ठुला माछा !
“
कात्तिक २०, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार र अकुत सम्पत्ति आर्जनको आशंकामा आइतबार पूर्वमुख्यसचिव, सचिव, पूर्वसचिव र पूर्वआईजीपी लगायतसँग बयान लिएको छ । अख्तियारले पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री, बहालवाला सचिव अर्जुनकुमार कार्की र पूर्वसचिव विश्वप्रकाश पण्डितसँग बयान लिएको हो ।
यस्तै, पदीय दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा पूर्वप्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल र बहालवाला सचिव गजेन्द्र ठाकुरमाथि छानविन सुरु गरेको छ । उनीहरूसँगै काठमाडौं महानगरअन्तर्गतका प्रहरी नायब उपरीक्षक (डीएसपी) धनपति सापकोटा र राजुनाथ पाण्डेसँग पनि बयान लिइएको छ । अर्यालले पदमा रहँदा करिब पाँच करोड रुपैयाँबराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरी परेको थियो ।
उनीहरुले अकुत सम्पत्ति आर्जन गरेको केही तथ्य फेला परेको अख्तियार स्रोतले जनाएको छ । यसअघि अर्याल र सचिव ठाकुरसँग १३ पन्ने सम्पत्ति विवरण भराएको थियो । अर्यालले फागुनमा प्रहरी प्रमुखबाट अवकाश पाएका थिए ।
यस्तै, चीन र थाइल्यान्डबाट विद्युत् ट्रान्सफर्मर खरिद गर्दा भ्रष्टाचार भएको दाबीसहित अख्तियारले प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशकसहितका पदाधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि गैरकानुनी रूपले मध्यस्थकर्ता नियुक्त गरी तीन करोड रुपैयाँ हानि–नोक्सानी भएको भन्दै परेको उजुरीमा पूर्वमुख्यसचिव क्षेत्री लगायतकासँग बयान लिएको हो ।
“