निर्वाचन आयोग सत्ताको दवावमा परेको जोशीको आरोप

“
कात्तिक १९, तनहूँ । निर्वाचन आयोगद्धारा उम्मेदवारी रद्ध गरिएका तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्दराज जोशीले निर्वाचन आयोग सत्ताको दवावमा परेर आफ्नो उम्मेदवारी रद्ध गरेको आरोप लगाएका छन् ।
आइतवार दमौलीमा पत्रकार सम्मेलन गरी जोशीले निर्वाचन आयोगको निर्णयले कानुनी शासनको उल्लघंन भएको टिप्पणी गरे । नेपाली कांग्रेसका पुर्व सह महामन्त्री समेत रहेका जोशीले आयोगको निर्णय अप्रजातान्त्रिक र असम्वैधानिक भएको प्रतिक्रिया दिएका छन् ।
उम्मेदवारी रद्ध भयो भन्ने बारेमा सञ्चारमाध्यमबाट सुनेको तर आयोगले अहिलेसम्म कुनै जानकारी नगराएको उनको भनाई छ । उनले निर्वाचन आयोगको विश्वसनियतामा प्रश्न चिन्ह लागेको समेत बताए ।
निर्वाचन आयोग प्रति भने जोशीले रोष प्रकट गरे । ‘निर्वाचन आयोग स्वतन्त्र र निष्पक्ष भएन, सत्ताको प्रभाव र दवावमा र्पयो ।’ जोशीले थपे, ‘कुनै उम्मेदवारविरुद्ध उजुरी परेमा सात दिनको म्याद दिएर स्पष्टीकरण लिने प्रावधानको खिल्ली उडाउँदै स्पष्टीकरणको मौका समेत दिइएन ।’
आयोगको निर्णयका विरुद्धमा के गर्ने भन्ने बारेमा कानुनविदहरुसँग छलफल गरिरहेको उनले जानकारी दिए ।
“








