लागुपदार्थ कारोवारी र ज्यान मार्ने अभियुक्त पक्राउ

“
कार्तिक १७, जनकपुरधाम । लागुपदार्थ बेचबिखन गर्ने एक भारतीयलाई धनुषा जिल्ला प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले भारतीय सीमाबाट नेपालतर्फ ठुलो मात्रामा लागुपदार्थ ल्याउँदै गरेका भारत मधुवनी जिल्ला हरलाखी ग्राम पञ्चायत इटहर्वा वडा नं १ का २४ वर्षीय अन्सारूल राइनलाई पक्राउ गरी यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरियो ।
प्रहरी नायब उपरीक्षक प्रवीण धितालका अनुसार धनुषा जिल्ला धनौजी–४ बाट राइनलाई प्रतिबन्धित नाइट्रोभेट नामक ५०० पत्ता लागुपदार्थसहित पक्राउ गरिएको हो । त्यस्तै, तराई राष्ट्र जनतान्त्रिक पार्टीका सैन्य कमान्डर बताउने कमला नगरपालिका वडा नं ७ का ३२ वर्षीय विजय यादवलाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरी टोलीले सीमा नजिक जाँच गर्ने क्रममा यादवलाई पक्राउ गरेको बताइएको छ । यादव सिरहाको मिर्चैयामा माओवादी नेता लालु खानलाई गोली हानी घाइते बनाएको ज्यान मार्ने उद्योग तथा सङ्गठित अपराधमा संलग्न रहेको जनाइएको छ ।
कार्यालयका अनुसार छ महिनामा सो भूमिगत समूहका चार जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनुषा जिल्ला ठाडीझिजा गाविस वडा नं ४ का ३५ वर्षीय प्रमोद ठाकुर तथा कमला नगरपालिका वडा नं २४ वर्षीय विष्णुदेव सहनी, वडा नं ७ का ३६ वर्षीय दीपकुमार महतो र २० वर्षीय छोटकन ठाकुर छन् ।
“








