सुनसरीमा काँग्रेसका मदन ढकालद्धारा बागी उम्मेदवारी

“
भरतराज शर्मा, धरान । सुनसरी क्षेत्र नम्बर १ क मा नेपाली काँग्रेसका मदन ढकालले पनि उमेद्वारी दर्ता गराउने भएका छन् । आगामी मङ्सिर २१ गते हुने प्रदेश सभाको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ क बाट पूर्व नगर सभापति किशोर राईले टिकट पाएपछि ढकालले पनि उमेद्वारी दर्ता गर्ने भएका हुन् ।
ढकालले आफू एक नम्बर क्षेत्रको क बाट पहिलो नम्बरमा सिफारिस भएको भए पनि पार्टीले ख बाट सिफारिस गरिएका राईलाई टिकट दिएपछि विद्रोही उम्मेदवारी दिने बताए । ढकाल नेपाली काँग्रेसका पूर्व जिल्ला सचिव, पूर्व नगर सभापति हुँदै हाल वरिष्ठ सदस्य हुन् । आफूले उम्मेदवारी दर्ता गराउने क्षेत्रीय कमिटीको बैठकमा समेत जानकारी गराई सकेको ढकालले बताए ।
उता सुनसरीमा वामपन्थी गठबन्धनको क्षेत्र बाँडफाँटमा एमाले प्रदेश नम्बर १ का संयोजक भीम आचार्यले पार्टीभित्रका आफ्ना विरोधी सिध्याउने खेल खेलेको भन्दै जिल्ला र क्षेत्रका नेताहरूले सामूहिक राजीनामाको तयारी गरेका छन् । कार्यकर्ताको विरोध सुरु भएपछि आचार्य उम्मेदवारी मनोनयनका दिन बिहानैदेखि सम्पर्क विहीन भएका छन् ।
आचार्यमाथि एमालेले सधैँ जित्दै आएको सुनसरी २ माओवादीलाई दिलाएको आरोप लागेको छ । इटहरी उपमहानगरसहित एमालेले जितेका क्षेत्र समेटिएको सो क्षेत्रमा यसअघि निर्वाचित सांसद रेवतीरमण भण्डारीलाई रोक्न आचार्यले जनमतमा कमजोर रहेको माओवादीलाई दिलाएको आरोप लागेको छ ।
त्यस्तै, क्षेत्र नम्बर ४ मा केन्द्रीय सदस्य जगदीश कुसियतलाई टिकट रोकेर राप्रपाबाट एमाले प्रवेश गरेका रमेश श्रेष्ठलाई दिलाएपछि आचार्य विरूद कार्यकर्ता उत्रिएका छन् । बिहानैदेखि प्रकाशपुरमा भेला भएका क्षेत्र र जिल्लाका नेताहरूले कुसियतले टिकट नपाए सामूहिक राजीनामा दिने बताएका छन् ।
पार्टीले श्रेष्ठलाई प्रतिनिसभा र कुसियतलाई प्रदेशमा टिकट दिएको छ । यसैबिच, भीम आचार्य उम्मेदवार बन्ने सुनसरी १ को ख मा माओवादीका जिल्ला इन्चार्ज मुक्साहाङ मेन्याङबो बागी उठ्ने भएका छन् ।
“








