भरतपुर प्रकरण : टुङ्गो लाग्ने कहिले ?

किशोर खनाल, भरतपुर । भरतपुर महानगरपालिकाको विवाद प्रकरण मङ्गलवार पनि टुङ्गो लाग्न सकेन । भरतपुर १९ नं. वडाको मतपत्र च्यातिएपछि निस्केको विवाद सर्वोच्चसम्म पुग्दा पनि अझै टुङ्गो लाग्न सकेको छैन । आज मङ्गलवार फैसला हुने भनिए पनि सर्वोच्च अदालतले वडा नं १९ को च्यातिएको मतपत्र झिकाउन आदेश दिएको छ । सर्वोच्चले मङ्गलवार यो विवाद अवश्य टुङ्गो लगाउला भनेर बसेका वडा नं १९ का मतदातालाई फेरि एक पटक सर्वोच्चको ढिलाइले झस्काएको छ ।

कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको मङ्गलवारको इजलासले च्यातिएको मतपत्र, निर्वाचन आयोगको निर्णय र मतपत्र च्यात्नेमाथि लगाइएको मुद्दाको फाइल एक साताभित्र सक्कल कागजातसहित ल्याउन आदेश दिएपछि भरतपुर महानगर विवाद प्रकरण फेरि तन्केको छ ।
जेठ १४ गते राति मतगणनाका क्रममा १९ नं वडाको मतपत्र च्यातिएपछि यहाँको निर्वाचन अधिकृतले मतगणना स्थल कब्जा भनी निर्वाचन आयोगमा प्रतिवदेन पठाएका थिए । निर्वाचन आयोगले १९ नम्बर वडामा फेरि मतदान गर्ने निर्णयसमेत गरेको थियो । निर्वाचन आयोगको निर्णय बदर गर्न माग गर्दै भरतपुर वडा नम्बर १९ का वडा सदस्यका उम्मेदवार गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले सर्वोच्चमा रिट हालेका थिए । यसअघि दुईपटकसम्म रिटको सुनुवाइ सरेको थियो । यस पटक सर्वोच्चले मतपत्र च्यातिएको सक्कल कागजात मागेको छ ।
भरतपुर विवाद टुङ्गो नलाग्दा निर्वाचित भएका जनप्रतिनिधिले सपथ खान पाएका छैनन् । वैशाख ३१ गते भएको पहिलो चरणको चुनाव भएका ठाउँमा सबै जनप्रतिनिधिले काम थाल्दा पनि भरतपुर महानगरले जनप्रतिनिधि नै पाएको छैन ।
मङ्गलवार रिट निवेदकको पक्षबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, हरि उप्रेती, टिकाराम भट्टराईले बहस गरेका थिए । निर्वाचन आयोगको तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहालले बहस गरेका थिए ।
भरतपुर महानगरपालिकामा काँग्रेस माओवादी गठबन्धनबाट मेयरमा माओवादीकी रेणु दाहाल उठेकी थिइन् । एमालेबाट देवी ज्ञवाली उठेका छन् २० नम्बर वडाको मतगणना बाँकी छ । १९ नम्बरको आधाभन्दा बढी गणना भइसकेपछि मतपत्र च्यातिएको थियो । गणनामा एमालेका देवी ज्ञवाली माओवादीकी रेणु दाहाल भन्दा ७८४ मतले अगाडि थिए ।








