चितवनमा कोको ‘हेभिवेट’ उठ्दैछन् ?

 किशोर खनाल

भरतपुर, कात्तिक १५ । मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा उम्मेदवार बन्नेहरुले आज बिहीबार मनोनयन दर्ता गर्दैछन् । देशभर ४५ जिल्लामा दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुँदैछ ।

निर्वाचनको मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको र उम्मेदवार बन्नेहरुले मनोनयन दर्ता गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ । धेरै राजनीतिक दलहरुले अधिकांश क्षेत्रमा आ–आफ्ना उम्मेदवार पनि टुंगो लगाइसकेका छन् । केही दलहरुबाट उम्मेदवारको टुङ्गो लगाउन बाँकी छ । चितवनमा तामझाम, बाजागाजा र जुलुससहित उम्मेदवार मनोनयन गर्ने विभिन्न पार्टीहरुले जनाएका छन् ।

चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयले पनि उम्मेदवार मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आज बिहीबार बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवार मनोनयन गर्ने समय तोकिएको छ । सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

‘मनोनयन पत्र दर्ताको सम्पूर्ण तयारी युद्धस्तरमा गरिएको छ, नोमिनेसन गर्न आउने उम्मेदवारको पर्खाइमा बसेका छौँ’ चितवन क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत परमेश्वर पराजुलीले भने, ‘हामीबाट तयारी पूरा भएको छ, गर्नुपर्ने सम्पूर्ण कामहरु सकिएका छन् ।’

नोमिनेसनका फारामहरु पनि वितरण भइसकेको छ । दलहरुका प्रतिनिधिहरुले नोमिनेसनका फारामहरु लिइसकेका छन् । प्रतिनिधि सभाको चितवनमा तीन क्षेत्र भएको हुनाले तीन वटा काउन्टर खोलिएको चितवन क्षेत्र नम्बर ३ का सहायक निर्वाचन अधिकृत केशवप्रसाद पौडेलले जानकारी दिएक । त्यस्तै प्रदेश सभाको ६ वटा काउन्टर खोलिएको छ । कर्मचारीको व्यवस्थापनको काम पनि सकिएको अधिकृत पौडेलले बताए । ‘कर्मचारीलाई मनोनयन पत्र दर्ता गर्दा गर्नुपर्ने कामहरुको निर्देशन दिइएको छ’ अधिकृत पौडेलले भने, ‘प्रत्येक काउन्टरमा अनलाइन सेवा छ, स्थानीय तहको भन्दा अहिले धेरै फरक छ, कर्मचारी धेरै छन् ।’

चुनावी दौडमा कोको ?
प्रतिनिधि सभातर्फ चितवन क्षेत्र नम्बर १ मा बाम गठबन्धनबाट ‘हेभिवेट’ पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे उठ्दैछन् । उनी संविधान सभाको दोस्रो चुनावमा चितवन क्षेत्र नम्बर १ बाटै विजयी भएका थिए ।

नेकपा एमाले चितवनका उपाध्यक्ष तेजेन्द्र खड्काले चितवन १ बाट पूवअर्थमन्त्री पाण्डेको उम्मेदवारी रहने बताए ।

त्यस्तै लामो रस्साकस्सीपछि प्रतिनिधि सभातर्फ चितवन क्षेत्र नम्बर २ मा बाम गठबन्धनबाट कृष्णभक्त पोख्रेलले टिकट पाउने भएका छन् । माओवादी केन्द्रका प्रभावशाली नेता रामबहादुर थापा ‘बादल’ र एमालेका जिल्ला अध्यक्ष पोख्रेलमध्ये कसलाई चितवन २ बाट उठाउने भन्ने विषय शीर्ष तहको नेताबीच लामो रस्साकस्सी चलेको थियो । अन्ततः चितवन क्षेत्र नम्बर २ मा कृष्णभक्त पोख्रेलको उम्मेदवारी रहने उपाध्यक्ष खड्काले बताए ।

यसैगरी क्षेत्र नम्बर ३ मा बाम गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उठ्ने भएका छन् । आज बिहीबार दाहालले दिउँसो १ बजेतिर मनोनयन दर्ता गर्ने माओवादी केन्द्रले जनाएको छ । दाहाल यसअघि सिरहा र काठमाडौँबाट उठे पनि यसपटक आफ्नै गृहजिल्ला चितवन ३ लाई रोजेका छन् ।

नेपाली कांग्रेसले चितवन जिल्लाको प्रतिनिधि सभाको लागि उम्मेदवार छनौट गरिसकेको छैन । ‘बुधबार राति वा बिहीबार बिहानमात्र उम्मेदवारको टुङ्गो लाग्छ’ कांग्रेसका जिल्ला सचिव उत्तम जोशीले भने, ‘मनोनयन गर्ने दिनमै उम्मेदवारको टुङ्गो लाग्छ, अहिले केही भन्न सकिने अवस्था छैन ।’ उनले बुधबार रातभरिमा चितवनको उम्मेदवारको टुङ्गो लाग्न सक्ने अनुमान गरेका थिए ।

चितवन क्षेत्र नम्बर ३ मा हेभिवेट उम्मेदवार वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डेको पनि उम्मेदवारी रहनेछ । पाण्डे लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बन्दैछन् । आज बिहीबार पाण्डेले चितवन ३ बाट उम्मेदवार मनोनयन गर्नेछन् । ‘चितवन ३ मा कांग्रेसको उम्मेदवार रहँदैन, लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विक्रम पाण्डेलाई सहयोग गर्छौ’ कांग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठले भने ।

राप्रपा चितवनका वरिष्ठ उपाध्यक्ष जीवलाल पुरीले राप्रपाले प्रतिनिधि सभामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई सघाउने र प्रदेश सभामा राप्रपाले उम्मेदवार मनोनयन गर्ने बताए । उनले भने, ‘प्रतिनिधि सभामा लोकतान्त्रिक गठबन्धनलाई सघाए पनि प्रदेश सभामा उम्मेदवारी दिने निर्णय केन्द्रबाट आएको छ ।’ उनले बुधबार रातिसम्म प्रदेश सभाको उम्मेदवार छनौट गर्ने जानकारी दिए ।

बाम गठबन्धनले बाजागाजा जुलुुससहित १२ बजे उम्मेदवार मनोनयन गर्ने बताएको छ । ‘हाकिमचोकमा भेला भएर बाजागाजासहित ¥याली र ठूलो जुलुस लिएर १२ बजेपछि बाम गठबन्धनले उम्मेदवार मनोनयन गर्नेछ’ एमाले जिल्ला इन्चार्ज कृष्ण खनालले भने । बाम गठबन्धनले प्रतिनिधि सभाको उम्मेदवार छनौट गरे पनि प्रदेश सभाको उम्मेदवार छनौट गर्न बाँकी नै छ । ‘क्षेत्र एकको प्रदेश सभाको उम्मेदवार छनौट भएको छ, २ र ३ को बाँकी छ, बिहीबार बिहानसम्म फाइनल हुन्छ’ एमाले जिल्ला उपाध्यक्ष तेजेन्द्र खड्काले भने । राप्रपाले पनि बाजागाजासहित उम्मेदवार मनोनयन गर्ने जनाएको छ । लोकतान्त्रिक गठबन्धनले पनि भव्य बाजागाजा र झाँकीसहित उम्मेदवार मनोनयन गर्ने जनाएको छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 9 =