एमालेद्वारा ६ नम्बर प्रदेशका सबै जिल्लाको उम्मेदवारको टुङ्गो
“
काठमाडौं, कात्तिक १५ । नेकपा एमालेले दोस्रो चरणमा चुनाव हुने ६ नम्बर प्रदेशका सबै जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेवारहरुको टुंगो लगाएको छ । उपाध्यक्ष बामदेव गौतम निवास भैैंसेपाटीमा बसेको एमाले स्थायी कमिटी बैठकले उम्मेदवार तय गरेको हो ।
एमालेका पोलिटव्यूरो सदस्य प्रकाश ज्वाला र यमलाल कडेल दुवैजना प्रदेशसभा सदस्यको उम्मेदवार बन्ने भएका छन् । एमाले माओवादी कार्यदलमा लामो समय सल्यानका कारण सहमति हुन सकेको थिएन । सल्यानमा माओवादीले प्रतिनिसिधा र एमालेले दुवै प्रदेशसभा पाएपछि एमाले नेता ज्वाला प्रदेश ख बाट उम्मेदवार बन्नुभएको छ । सल्यानको प्रदेश क बाट केन्द्रीय सदस्य गुलाबजंग शाह प्रतिस्पर्धा गर्ने निश्चित भएको छ ।
६ नम्बर प्रदेशमा एमालेले र माओवादीले प्रतिनिधिसभामा बराबरी सिट बाँडेका छन् । एमालेले सुर्खेत र दैलेखमा चार सिट सहित मुगु र डोल्पा गरि ६ निर्वाचन क्षेत्र पाएको छ । त्यस्तै माओवादीले सल्यान, कालिकोट, जुम्ला, जाजरकोट, हुम्ला र रुकुममा गरि ६ निर्वाचन क्षेत्र पाएको छ । त्यस्तै प्रदेशसभामा एमालेले १४ र माओवादीले १० सिट पाएका छन् ।
“