‘भ्रष्टाचार अन्त्यका लागि मेरो उम्मेदवारी’ ( भिडीयो सहित )

राप्रपा नेपालका महामन्त्री समेत रहेका डा. धवल शम्शेर राणा नेपालगञ्जमा २०५४ सालमा एमालेका तर्फबाट मेयर भइसकेका व्यक्ती हुन् । नेपालगञ्जका स्थायी बासिन्दा डा. राणा मेयर हुँदा नेपालगञ्जको विकास तीव्र रूपमा अगाडी बढेको थियो । विगत लामो समयदेखि हुन नसकेका कामहरू मेयर पदमा निर्वाचित भए आफूले गरेर छाड्ने उम्मेदवार राणा बताउनुहुन्छ । आफूले तत्कालिन समयमा अघि सारेका योजनाहरू पुरा गर्न नेपालगञ्जको मेयरका लागि उठेको राणाको भनार्इ रहेको छ । प्रस्तुत छ, उनै राणासँग उनले विगतमा गरेका काम, हालको अवस्था र जितपछि नेपालगञ्जको विकासका लागि गरिने कार्यबारे मकालु खबरका लागि लोकेन्द्र थापाले गरेको कुराकानी ।
नेपालगन्ज क्षेत्रबाट मेयर पदमा तपाईको उम्मेदवारी किन ?
नेपालगञ्ज जस्तो हराभरा र निकै चर्चित सहर अहिले फोहरी सहरको रूपमा परिचित हुन लागेको छ । यस सहरलार्इ पुन जीवनदान दिन तथा यहाँका नागरिकलार्इ स्वस्थ तथा सफा वातावरणमा बाँच्न पाउने अधिकार दिलाउनका निम्ति मैले उम्मेदवारी दिएको हुँ । फेरी यसअघि मेयर हुँदा गर्न बाँकी काम पनि पुरा गर्नु छ मैले ।
नेपालगञ्जमा विकासका मुख्य चुनौतीहरू के के देख्नुहुन्छ ?
नेपालगञ्ज उप–महानगरपालिकामा बाटोघाटोका समस्याहरू छन् । हामीसँग उपलव्ध निकै कम श्रोतपनि नेपालगञ्जको समस्यानै हो भन्छु म । फेरि, नेपालगञ्जमा अहिले ढलको बिकराल समस्या छ, जसलार्इ एशियाली विकास बैंक (एडीवी) परियोजनाले धेरै हदसम्म व्यवस्थित गर्न सहयोग गरेको छ । तर अझै पनि हालको उप–महानगरपालिका अन्तर्गतका साबिकका ११ वटा गाविस वडाहरुमा ढलको ठुलो समस्या देखिएको छ । स -साना बाटाहरूले गर्दा नालाको व्यवस्था गर्न सकिएको छैन । दमकल समेत जान नसक्ने अवस्था छ । यी नै उप–महानगरपालिकाका मुख्य चुनौतिहरु हुन् ।
नेपालगञ्जको विकासका लागि तपाईका योजनाहरु के के छन् ?
ठ्याक्कै वर्षा याम सुरूहुने बेला भयो, त्यसैले पहिलो तीन महिना त खासै केहि गर्न पार्इंदैन । तर, पनि मेरो पहिलो प्राथमिकता भनेको ढल र डुबानको समस्या समाधान गर्नु हो । पुराना संरचनाहरू जुन मैले पहिला विकास कार्यको निम्ति बनाएको थिए ती संरचनाहरू तीन महिनाभित्र सुचारु गर्ने र त्यसपछि विकासको कामलाई तीव्र बनाउने , सडक निर्माणलार्इ प्राथमिकता दिने लगायतका नै हुन् । मैलै एक सय पृष्ठको आफ्नो प्रबिद्धतापत्र सार्वजनिक गरेको छु । समग्रमा नेपालगञ्ज उप–महानगरपालिकालाई उत्कृष्ठ बनाउने, महिला, बालमैत्री नगर बनाउने, भष्ट्राचारमुक्त नगर बनाउने नै मेरो एजेण्डाहरु छन् ।

चुनावी अभियानमा मतदाताहरुका घरदैलोमा पुगिरहँदा जनताको प्रतिक्रिया कस्तो पाउनुभएको छ ? नेपालगञ्जका जनताहरूको चाहना के रहेको छ ?
नेपालगञ्जका जनताहरू आत्तिएका छन् । जब मैले १४ वर्षअघि नगरपालिका छोडे, त्यसबेला धेरै बिकास भइसकेको थियो । नेपालगञ्ज उपमहानगरपालिका अलि सानो भएतापनि सुन्दर, सफा, भ्रष्टाचारमुक्त थियो भने ताल तलैया, पार्कहरु निर्माण भइसकेका थिए । बाटोहरुमा खाल्डो देखिदैंन थियो । तर, अहिले सहर अस्तव्यस्त बनेको छ । यी सबै कुराहरूलाई व्यवस्थापन गर्न तथा पुन सुचारु गर्नका लागी मैले उम्मेदवारी दिएको हुँ । नेपालगञ्जका जनताले धवल शम्शेरले फेरि पुराना योजनाहरुलाई सञ्चालन गरिदिन्छ र विकासका मूल खोतल्छ भनेर विश्वासका साथ मनस्थिति बनाइसकेका छन् । मलाई लाग्छ धवल शम्शेरलाई जिताउन भनेर जनता १४ गते कुरेर बसेका छन् ।

तपार्इं यसअघि नेपालगञ्जको मेयर रहँदा गरेका कामहरू के के हुन ?
मैले त्यसबेला ३० वर्षमा हुन नसक्ने विकासका योजनाहरू पाँच वर्षभित्र पुरा गरेको थिए । मैले नगरपालिका छाडेकै १४ वर्ष भयो कुनै एक नयाँ ठाउँमा काम भएको देखिदैन । शिलालेख लेखिएको छैन । दैलेखी बंगला, सल्यानी बंगला, बसपार्कका सटर, मण्डी, टाँगा स्टेण्ड, महेन्द्र पार्क, वाटरपार्क, रानी तलाउ, नगरभवन, नगरपालिकामा सटर तमाम छन् । तर, विकासको कार्यको कुरा परैको कुरा भएको छ ।
पहिलो चरणको निर्वाचनमा राप्रपाको अवस्था एकदमै नाजुक देखिएको छ । नेपालगञ्जमा के हुनसक्ला ?
अहिलेको निर्वाचन राष्ट्रिय एजेण्डा, मूल्य मान्यता स्थापित गर्नका लागि भएको निर्वाचन होइन । यो स्थानीय एजेण्डामा आश्रित निर्वाचन हो । यो आफ्नो घर, आफ्नो नगर, आफ्नो सहर, आफ्नो वडाको विकासको निर्वाचन हो । यसलाई राष्ट्रिय निर्वाचनसंग नजोड्न सबैलाई आग्रह गर्दछु । अरू ठाउँमा जे जस्तो भए पनि नेपालगञ्ज उप–महानगरपालिकामा राप्रपाले जित्ने ठुलो सम्भावना छ । त्यसमाथि पनि धवल शम्शेरलाई मान्छेहरूले पत्याएर, विश्वास गरेर जिताउँछन् भन्ने कुरामा म पुर्ण विश्वस्त छु ।
बाँके जिल्ला नेपालकै भ्रष्टाचार गर्ने दोस्रो नम्बरमा देखिएको छ । जितपछि भ्रष्टाचार नियन्त्रण कसरी गर्नुहुन्छ ?
मैले चुनाव जितें भने एकरति पनि भ्रष्टाचार गर्न दिन्न । यसअघिको मेरो कार्यकालमा पनि मैले भ्रष्टाचार हुन दिइन । मैले मेयर पदबाट छोडेपछि यस्तो लाजमर्दो अवस्था अएको हो । मैले पहिला पनि भनिसकें मेरो जितपछि म सरकारी तलब लिने छैन । उक्त रकम बरू गरिब, विपन्न बालबालिकाहरुका निम्ति, सामाजिक कार्यमा लगाउने छु ।
डा. धवल शम्शेर राणालाई जनताले मतदान किन गर्ने ?
हेर्नुस, नेपालगञ्ज उप–महानगरपालिका अस्तव्यस्त बनेको छ । नयाँ संविधानले प्रशस्त अधिकार दिएको उपमहानगरपालिकालाई एक सशक्त स्थानिय निकायको रूपमा सञ्चालन गर्नका लागि अनुभवी, स्वस्थ्य मनस्थिति, कर्मठ, योग्य व्यक्तिलाई पठाएन भने जनताले यो उप–महानगरपालिकालार्इ नर्कपालिकाको रूपमा देख्ने दिन अाउन सक्छ । मैले नगरपालिकाका सञ्चालनकै विषयमा बिद्यावारिधि गरेको छु । पाँच वर्षका निम्ति फेरि पनि मलार्इ विश्वास गर्नु भयो भने नेपालगञ्ज बासीको धेरै सपनाहरू साकार हुने प्रतिवध्दता ब्यक्त गर्दछु ।








