साइकल बेचेर घरबाट भागेका ४ बालक समातिए

कालिकोट, असार ६ – कामको खोजीमा सुर्खेत जान लागेका जुम्ला चन्दनाथ नगरपालिका-११ का तीन र चन्दनाथ-८ का एकगरी चार बालकलाई प्रहरीले उद्धार गरेको छ । उनीहरुलाई प्रहरीले कालिकोट खाडाचक्र नगरपालिका-३ ताडीको चेक पोष्टमा समातेको हो ।

बालकहरु १४ वर्षका दानबहादुर रोकाया, १५ वर्षका कमल रोकाया १५ वर्षकै कमल सेजुवाल र चन्दनाथ-८ का कमल रावल रहेको प्रहरी नायव निरीक्षक योगन्द्र कुमार खड्काले जानकारी दिनुभयो ।
‘उनीहरुलाई थुनामा राख्न मिल्दैन, अन्यत्र राख्ने ठाउँ छैन, त्यसैले प्रहरीमार्फत मंगलबार बेलुकासम्म उनीहरुकै घर पुर्याउने तयारी गरेका छौँ’ खड्काले भन्नुभयो ।
भैरव मावि धुपि ढुस्कामा कक्षा ९ मा अध्ययनरत दानबहादुर सेजुवाल वैशाखमा सुर्खेत गएर जेठमा फर्किएका हुन् । सेजुवालले होटलमा मासिक ४ हजारमा खाएर काम गरेका थिए । जेठमा उनका साहु कमल बहादुर शाहीले होटल बेचेपछि उनी घर फर्किएका थिए ।
अहिले साथीहरुसँगै कामको खोजीमा जान लाग्दा प्रहरीले समात्यो । उनीहरुले १२ हजारमा २ वटा साइकल बेचेर गाडी भाडा र खाना खर्चको जोहो गरेका हुन् । दानबहादुरका २ भार्इ र आमाबुवा छन् । बुवा सिकर्मीको काम गर्छन् ।








