मोरङ सुनसरी औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्नै समस्या

६ असार, मोरङ । मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा जग्गा अभाव र अत्यधिक मूल्य वृद्धिका कारण लगानीकर्ताले उद्योग स्थापना गर्न सकेका छैनन् । पछिल्लो समय प्रदेश नं १ को सङ्घीय राजधानी विराटनगर हुने चर्चासँगै यस क्षेत्रमा जग्गाको मूल्य अत्यधिक बढेको छ । जग्गाको मूल्य वृद्धिको प्रत्यक्ष मारमा लगानीकर्ता परेका छन् । आफूसँग भएको पुँजी जग्गा खरिदमै खर्च हुने भएपछि लगानीकर्ता उद्योग स्थापना गर्नेतर्फ उत्साहित देखिएका छैनन् ।

विराटनगर–इटहरी सडकखण्ड छेउछाउमा जग्गा खाली छैन । भएको जग्गा पनि अत्यन्तै महँगो छ । अधिकांश उद्योग यही क्षेत्रमा सञ्चालनमा छन् । कोसी राजमार्ग छेउछाउ प्रतिकट्ठा जग्गाको मूल्य कम्तिमा रु तीनचार लाख पर्छ । एउटा उद्योग स्थापनाका लागि चारपाँच बिगाहा जग्गा आवश्यक पर्छ ।

“जग्गा खरिदमै रु चारपाँच करोड खर्च हुन्छ,” उद्योगी नन्दकिशोर राठीले भन्नुभयो – “उद्योग सञ्चालनामा आउँदासम्म रु १० करोड भन्दा बढी खर्च हुन्छ ।” चाउचाउ, बिस्कुट, जुटलगायत उद्योगका लागि बढी जग्गा आवश्यक पर्छ । यस क्षेत्रमा ठूलो उद्योग सञ्चालन गर्नका लागि जग्गा खाली नै नभएको राठी बताउँछन् । जग्गा अभावमा चाहेर पनि लगानीकर्ताले उद्योग स्थापना गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

आफूसँग भएको र बैंकबाट लिएको ऋण जग्गा खरिदमै खर्च हुने स्थिति भएका कारण लगानीकर्ता उद्योग स्थापना गर्न उत्साहित नभएको उद्योगी राजेन्द्र राउत बताउँछन् । “उद्योग क्षेत्रमा गर्ने लगानी अन्यमा जाने सम्भावना छ,” उनले भने । यहाँका उद्योगीले यस क्षेत्रलार्इ औद्योगिक क्षेत्र घोषणाको माग गर्दै आएका छन् ।

सरकारले विशेष आर्थिक क्षेत्र स्थापना गरे जग्गा खरिद गर्ने पुँजी उद्योगमा लगानी हुने राउतको भनाइ छ । सरकारको स्वामित्वमा रहेको नेसनल ट्रेडिङ र विराटनगर जुटमिलको जग्गामा विशेष आर्थिक क्षेत्र स्थापना गर्न उद्योगीले माग गर्दै आएका छन् । बर्सेनि बजेट अघि उद्योगीले संस्थागत रुपमै विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्र स्थापनाको माग गर्ने गरेका छन् ।

औद्योगिक क्रान्ति विराटनगरबाटै सुरु भए पनि सरकारले बेवास्ता गरेको उद्योग सङ्गठन, मोरङका अध्यक्ष मुकेश उपाध्यायको गुनासो छ । “सेज स्थापना गरे जग्गा खोजीमा उद्योगीले भौँतारिनु पर्ने थिएन,” उनले भने । उद्योग स्थापना गरिएको क्षेत्र वरपरका बासिन्दाले उद्योगका कारण वातावरण प्रदूषण भयो भनेर गुनासो गर्दै आएका कारण विस्थापित हुनुपर्ने अवस्था सिर्जना भएको उपाध्याय बताउँछन् ।

सरकारले उद्योग, बसोबास, खेतीलगायतका लागि जग्गा छुट्याउनुपर्ने मोरङ व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाको भनाइ छ । जग्गा व्यवसायीले जहाँतहीँ प्लटिङ गरेर बिक्री गर्दा समस्या देखिएको छ । उनले सेज स्थापना गर्न ढिलाइ गर्न नहुने बताए।

मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगले जुट, चाउचाउ, बिस्कुट, तेल, मैदा, रिफाइनरी तेल, छाला, जुत्ता, चप्पल, धागो, साबुन, वायर, रड, स्टिल, कर्कटपाता, प्लास्टिकका सामान, सिमेन्ट, दाना, बिजुलीको तार, जिआइ पाइप, चामललगायत वस्तु उत्पादन गर्दैआएका छन् । उक्त क्षेत्रमा ५५० भन्दाबढी उद्योग छन् भने ती उद्योगमा ८० हजारभन्दा बढी नागरिकले रोजगारी पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − ten =