चितवन–३ : ‘हेभिवेट’ उम्मेदवारबीच वाकयुद्ध

कार्तिक १४, भरतपुर । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्ने घोषणा गरेसँगै राजनीति वृत्तमा यस क्षेत्रको चर्चा खुब हुन थालेको छ ।

बाम गठबन्धन हुनुअघि नै प्रचण्डले चितवन क्षेत्र नम्बर ३ बाट उठ्ने घोषणा गरेका हुन् । गठबन्धनपछि पहिलोपटक चितवन आएका ‘हेभिवेट’ उम्मेदवार प्रचण्डले चितवन ३ का जनताले आफूलाई जिताउने र आफूले नै देशकै नेतृत्व गर्ने समेत बताए ।

प्रचण्डको स्वागत गर्न एमालेका जिल्लास्तरका नेताहरूको समेत लर्को लागेको थियो । उनले चितवनको नेतृत्व राष्ट्रको नेतृत्व सोचेर चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवार दिएको बताउँदै आफूलाई यहाँका जनताले जिताएर देशकै नेतृत्व गर्न पठाउने दाबी गरे ।

प्रचण्ड चितवन आएर क्षेत्र नम्बर ३ का जनताले आफूलाई जिताउने दाबी गरिरहँदा सोही क्षेत्रका अर्का ‘हेभिवेट’ उम्मेदवार राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष तथा वनमन्त्री विक्रम पाण्डे प्रचण्डको बोलीलाई चुनौती दिन तत्काल चितवन ओर्ले । प्रचण्ड चितवन आएर जित्ने दाबी गरेकै भोलिपल्ट मङ्गलवार वनमन्त्री पाण्डे पनि चितवन आएर क्षेत्र नम्बर ३ मा आफूले जित्ने दाबी गरे । उनले काँग्रेसको सबै भोट आफूलाई नै आउने र जित सुनिश्चित भएको समेत बताए ।

जसरी पूर्वप्रधानमन्त्री प्रचण्डले चितवन ३ बाट जितेर देशकै नेतत्व गर्ने बताए, त्यसरी नै विक्रम पाण्डेले पनि चितवन ३ बाट जितेर देशकै नेतत्व गर्ने बताए । उम्मेदवार मनोनयन नहुँदै ‘हेभिवेट’ उम्मेदवारबीच चितवनमा वाकयुद्ध चल्न सुरु भइसकेको छ ।

कसको मत बढी ?
चितवन क्षेत्र नम्बर ३ मा माडी नगरपालिकासहित भरतपुर महानगरपालिकाका १९ वडा पर्छन् । साविक नारायणी नगरपालिका, नगरपालिका र चित्रवन नगरपालिका यही क्षेत्रमा पर्छन् । साविक चित्रवन नगरपालिकामा नेपाली काँग्रेस बलियो छ । यस क्षेत्रलाई काँग्रेसको गढ मानिन्छ । क्षेत्र ३ मा स्थानीय तहको १९ वडाको हिसाब गर्दा माओवादी केन्द्र र एमालेभन्दा काँग्रेसको मत बढी छ । १९ वडा मध्ये ६ वटा एमाले ३ वटा माओवादी र ११ वटा वडा काँग्रेसले जितेका हुन् ।

स्थानीय चुनावमा क्षेत्र ३ मा पर्ने १९ वटा वडाको काँग्रेसले पाएको मत जोड्दा २३ हजार २३७ छ । एमालेको जोड्दा २१ हजार १३० मत छ । माओवादी केन्द्रको मत दुवैका भन्दा कम छ । माडी नगरपालिकाको सहितको मतलाई जोड्दा काँग्रेसको मत २७ हजार कट्छ । माडीको मतसहित एमालेको सम्पूर्ण मत जोड्दा २४ हजार कटेको छ ।

चितवन ३ मा बाम गठबन्धनको (माओवादी केन्द्र र एमाले) मत जोड्दा काँग्रेसको मतभन्दा ८ हजारले बढी छ । क्षेत्र ३ मा पर्ने भरतपुर महानगरपालिका वडा नम्बर २६, २५ र १३ मा माओवादी केन्द्रको मत बढी छ । स्थानीय चुनावमा यस वडाको नेतृत्वमा माओवादी केन्द्रले जितेको थियो । वडा नम्बर १३ लाई माओवादी केन्द्रको गढ नै मानिन्छ । यस वडामा उसले प्यानलै जितेको हो । स्थानीय तहको चुनावमा क्षेत्र नम्बर ३ मा परेको माडी नगरपालिकाको मेयरमा माओवादी केन्द्रका अध्यक्ष ठाकुर ढकालले जितेका हुन् । तर त्यहाँ काँग्रेस, माओवादी केन्द्र र एमाले र राप्रपाको मत पनि बराबरीजस्तो आएको थियो ।

कुनै समय काँग्रेसका तत्कालीन सभापति सुशील कोइराला सत्प्रतिशत जित्ने क्षेत्र भन्दै सोही ठाउँबाट उठेर जितेका थिए । अहिलेको तीन नम्बर क्षेत्र त्यति बेला ४ मा परेको थियो । २०४८ सालदेखि नै हाल चितवनको ३ नम्बरमा क्षेत्रमा परेका ठाउँहरू काँग्रेसको आधार इलाका मानिन्छन् ।

कसले मार्ला बाजी ?
तीन वटा ठुला पार्टी (काँग्रेस, माओवादी केन्द्र र एमाले) को उम्मेदवार रहने हो भने चितवन क्षेत्र नम्बर ३ मा काँग्रेसले जित्ने सम्भावना प्रबल थियो । स्थानीय तहको चुनावको मतलाई नजर लगाउँदा यस क्षेत्रमा काँग्रेस नै बलियो देखिएको छ । तर प्रतिनिधि सभाको चुनावमा यस क्षेत्रमा काँग्रेसको एकल उम्मेदवार नरहने देखिन्छ । काँग्रेसले लोकतान्त्रिक गठबन्धनबाट बनेका उम्मेदवार राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष विक्रम पाण्डेको चुनाव चिन्ह हलोमा भोट हालेर सघाउने जनाएको छ ।

‘काँग्रेसको उम्मेदवार रहने सम्भावना छैन, काँग्रेससहितको लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका विक्रम पाण्डेलाई सघाउने निश्चितजस्तो भएको छ’ काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले भने, ‘आधिकारिक घोषणा हुन बाँकी नै भए पनि हामीले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विक्रम पाण्डेलाई सघाउने भएका छौँ ।’

समग्रमा चितवन–३ काँग्रेसले जित्ने सम्भावना बलियो हुँदाहुँदै पनि त्याग गरेर राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष पाण्डेलाई सघाइने काँग्रेसका जिल्ला सचिव उत्तम जोशीले जानकारी दिए । काँग्रेसले पाण्डेलाई सघाउने भएपछि यस क्षेत्रमा विक्रम पाण्डे र पुष्पकमल दाहालबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिनिधि सभाको चुनावमा ‘हेभिवेट’ उम्मेदवार प्रचण्ड र विक्रम पाण्डे दुवै एकअर्काको भोटमा भर पर्नुपर्ने अवस्था छ । विक्रम पाण्डे संविधान सभाको दोस्रो चुनावमा क्षेत्र नम्बर ५ बाट विजयी भएका थिए । त्यति बेला क्षेत्र ५ मा परेको ठाउँहरू अहिले क्षेत्र नम्बर ३ मा पर्छ ।

लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका पाण्डेले पहिले पनि आफूले जितेको र अब पनि जित्ने दाबी गरेका छन् । उनले भने, ‘विकासप्रेमी विक्रम पाण्डेलाई क्षेत्र नम्बर ३ का जनताले जिताउँछन् । काँग्रेसको मतले मैले जित्छु ।’

राप्रपा नेपाल (कमल थापा नेतृत्व) ले पनि पाण्डेलाई सघाउने भएका छन् । काँग्रेसको समर्थनमा उठ्ने पाण्डेले काँग्रेसको भोट कति पाउँछन् भन्ने कुनै ग्यारेन्टी त छैन । तर उनी काँग्रेसकै भोटको भरमा जित्ने दाबी गर्छन् । भूमिसुधार मन्त्री हुँदा पाण्डेले आफ्नो क्षेत्र चनौलीमा नापी तथा मालपोत शाखा कार्यालय खोलेका थिए । उनले यसलाई पनि जित्ने आधार मानेका छन् ।

प्रचण्ड बाम गठबन्धनबाट बनेका उम्मेदवार हुन् । उनले पनि चितवन क्षेत्र नम्बर ३ का जनताले जिताउने दाबी गर्छन् । प्रधानमन्त्री हुँदा उनले धेरै विकासको बजेट ३ नम्बर क्षेत्रमा पारेका थिए । बाम गठबन्धनको सम्पूर्ण भोट प्रचण्डले पाए भने उनले जित्ने निश्चित छ । तर बाम गठबन्धनबाटै भोट बाँडिएर अन्यत्र जानु र काँग्रेसको सम्पूर्ण मत पाण्डेले पाए भने उनको जित निश्चितजस्तो हुन्छ ।

काँग्रेसको भोट बाँडिएर प्रचण्डलाई आयो भने नतिजा फरक आउनेछ । दुवै उम्मेदवार एकअर्काको मतमा भर परेका छन् । क्षेत्र ३ का जनताले कसलाई जिताउँलान् त ? यो अधिकार त्यहीँका जनताको हातमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + five =