४० शहरमा फोरजी सेवा विस्तार गर्ने एनसेलको लक्ष्य

जेठ १७, काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो सेवा प्रदायक संस्था एनसेलले चौथो पुस्ताको मोवाइल सेवा फोरजी र लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा सुरु गरेको छ ।

नवीन प्रविधिहरु भित्राउँदै विश्वस्तरीय सेवा तथा ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिवद्धता बमोजिम उच्चगतिको मोबाइल ब्रोड ब्याण्ड सेवामा ग्राहकको पहुँच पुर्‍याउन फोरजी सेवा सुचारु गरिएको एनसेलले बताएको छ ।

नयाँ सिमकार्ड लिएका तथा फोरजी चल्ने मोवाइल भएका सबै एनसेल ग्राहकले भोलि बिहीबारबाट काठमाडौं उपत्यका लगायत नगरकोट, बनेपा र धुलिखेलमा यो सेवा लिन सक्ने बताईएको छ ।

‘हामी प्रविधि तटस्थताले देश र जनतामा ल्याउने वृहत सकारात्मक प्रभावका बारेमा सोचेर उत्साहित छौं । यसले हामीलाई डिजिटल नेपालको निर्माणको यात्रामा अघि बढाएको छ’ एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने ।

सन् २०१७ को अन्त्य सम्ममा कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी पुर्‍याउने लक्ष्य एनसेलले लिएको छ । यसका लागि उसले देशका विभिन्न ४० शहरहरुमा फोरजी सेवा सुचारु गर्ने योजना सहित नेटवर्क परीक्षण गरिरहेको छ । फोरजी सेवाका लागि ग्राहकले आफूले प्रयोग गरीरहेको सिमलाई नजिकैको एनसेल सेन्टरबाट फोरजी चल्ने सिम ‘युसिम’ सँग निःशुल्क साट्न सकिन्छ। भने, नयाँ ग्राहकले फोरजी सिम नै प्राप्त गर्ने उसले बताएको छ । यसका साथै एनसेलले भोलि फोरजी सेवा प्रयोग गर्ने ग्राहकलाई ३ दिनमा १ जिबी डेटा भोल्युम निःशुल्क प्रदान गर्ने जनाएको छ ।

साथै असार १६ गतेसम्म फोरजी सेवा लिने ग्राहकले भर्खरै सार्वजनिक भएको योण्डर म्युजिक एपमा फोरजी सेवा लिएको ३० दिन सम्म निःशुल्क अनलाइन गीत सुन्न सक्नेछन् ।

यस बाहेक चाँडै नै डिभाइस सर्भिस बण्डलिङ्गमा आकर्षक अफर तथा निःशुल्क रुपमा अनलिमिटेड फिल्ममा पहुँच हुने जस्ता रोचक योजनाहरु ल्याउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + eighteen =