विगतमा रोएर दिन बिताएकाहरु अहिले समाजकै अगुवा

धु्र्वसागर शर्मा, म्याग्दी । शारीरिकरूपमा कमजोर हुँदैमा निराश र चिन्तित हुनु पर्दैन बरु मानसिक रूपमा दराे बन्दै अगाडि बढ्ने हो भने समाजको नै अगुवा बन्न सकिन्छ भन्ने उदाहरण हातखुट्टा कृत्रिम तर दरिलो आत्मबल भएका यहाँका अगुवाले पुष्टि गरेर देखाइदिएका छन् ।

बेनी नगरपालिका–९ की गोरी दर्जीले रूखबाट लडेर खुट्टा गुमाएपछि समाजमा उनलाई ‘लौ तेरो त जीवन नै बर्बाद भयो’ भन्नेहरू धेरै थिए । २०६३ सालमा स्याउला लिन रूख चढेकी दर्जी चिप्लिएर जमिनमा खसेपछि उनलार्इ आफ्नो भविष्य सकिएको महसुस भएकाे थियाे । उनी एउटा खुट्टा गुमाएपछि केही वर्ष उनको दैनिकी निकै कष्टकर भए पनि दरिलो आत्मबलका साथ सामाजिक कार्यमा निरन्तर सक्रिय हुन थालिन । दलित महिलाकी अगुवासमेत रहेकी दर्जीले दलित तथा महिलासम्बन्धी कार्यक्रममा नियमित उपस्थिति हुन थालेपछि गाउँले समेत उनको साहसबाट दङ्ग पर्न थाले । कृत्रिम खुट्टा प्रयोग भएको समेत अहिले धेरै गाउँलेले पत्तो पाउँदैनन् ।

दर्जीको दरिलो आत्मबल र सक्रियताका कारण गाउँका सामाजिक कार्यमा लागेकाहरूले समेत सहयोग गर्न थालेपछि अहिले उनी निकै उत्साहित छिन् । गत वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा वडा नं ९ बाट नेकपा एमालेका तर्फबाट दलित महिला सदस्यमा निर्वाचित भएपछि दर्जीलाई पार्टीले नगर कार्यपालिकामा समेत अवसर दिएको छ । जनप्रतिनिधिको भूमिकामा उनले गाउँमा हुने सबै कार्यक्रममा आफ्नो उपस्थिति देखाउँने छिन् ।

“कृत्रिम खुट्टा भए पनि यो लगाउँदा नक्कलीजस्तो लाग्दैन । मेरो सक्रियताले नयाँ पुस्ताले मलाई अपाङ्ग भन्दैनन्”, दर्जीले भनिन् । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *