आजबाट तराईमा छठ पर्वको रौनक छायो, व्यापारी खुसी
“
भरतराज शर्मा(गोपाल), सुनसरी । विशेष गरी तराई तथा मिथिला क्षेत्र बासिकाे लोकप्रिय तथा कठोर पर्वको रूपमा मनाईने छठ पर्व आजबाट सुरु भएको छ । श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व आजबाट सुरु भएको हो ।कात्तिक शुक्ल चौथीदेखि सप्तमी सम्म तराईका मैथली भाषाभाषीहरू विभिन्न विधि गरेर मनाइने छठ पर्व आज ‘नहाय–खाय’ अर्थात् नुहाएर खाने विधिसँगै सुरु भएको हो । छठ पर्व सुरु भएसँगै गाँउबस्तीमा छठी गीत गुञ्जिन थालेको छ ।
सूर्यदेवको उपासना गरिने यस पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन ब्रतालुले व्रत संकल्प गरेर पवित्र स्नान गरेर चोखोनितो खाने गर्दछन् । पहिलो दिनको यो विधिलाई बोलीचाली भाषामा ‘नहाय–खाय’ भन्ने गरिन्छ । पर्वको दोस्रो दिन पञ्चमी तिथिमा ब्रतालुले दिनभरि निराहार व्रत बसेर राति सख्खरमा पकाइएको खिर मात्र खाएर ‘खरना’ विधि सम्पन्न गर्न परम्परा रहेको मोरङ कदमाहाका रामकृपाल शर्माको भनाई छ ।
उनका अनुसार पर्वको मुख्य दिन मानिने षष्ठी तिथिका दिन बिहानै नुवाई–धुवाई गरेर निराहार व्रत बसेका ब्रतालुले बेलुका अस्ताउँदो सूर्यलाई कम्मर सम्म छोप्ने जलासयको पानीमा उभिएर अर्घ दिने गरिन्छ । जसलाई स्थानीय मैथली भाषामा ‘सझुका अरख’ दिने भनिन्छ ।
झिलिमिली पारेर सजाइएको पोखरी, तलाउ, कल अर्थात् टयुवेल लगायतका पानी घाटमै रातभरि जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई र अघिल्लो दिन अस्ताउदा सूर्यलाई अर्घ दिँदा देखाइएका सामग्री देखाएर अर्को अर्घ दिएपछि यो पर्व सम्पन्न हुने परम्परा छ । उदाउँदो सूर्यलाई दिइने यो अर्घलाई ‘भोरका अरख’ भनिने गरिएको रामकुमार कामतले बताए ।
मिथिला लोक संस्कृतिको अभिन्न अङ्ग बनिसकेको यो पर्वको तयारीमा अहिले विभिन्न क्षेत्रका नदी, तलाउ र कुण्ड सहितका जलाशय मन मोहक ढङ्गले सिंगारिदै गरिएको देख्न पाइन्छ । यसैबिच छठ पर्वका लागि विभिन्न प्रसाद सामग्री खरिद गर्न तराईका बजारहरुमा भीड समेत लागेको छ । खास गरी छठमा अनिवार्य रूपमा चढाइने केरा, नरिवल लगायतका फलफुल तथा विभिन्न बासबाट बनेका सामानहरू र माटका भाडाहरु किन्नका लागि पसलहरुमा ग्राहकको भीड देखिने गरिएको र मोरङ नयाँ बजारका व्यापारी बच्चु मंण्डलको भनाई छ । यो पर्व विशेषत तराईका जिल्लाहरुमा हर्साेलासका साथ मनाईने गरिएको छ ।
“