विशेष प्रशिक्षणका लागि पाँच नेपाली फुटबल प्रशिक्षकहरु जापान जाने

काठमाडौं । विशेष प्रशिक्षणका लागि पाँच नेपाली फुटबल प्रशिक्षकहरु जापान जाने भएका छन् । जापान सरकारको निमन्त्रणामा एक हप्ते प्रशिक्षणका लागि पाँच ‘ए’ लाइसेन्स प्राप्त नेपाली प्रशिक्षकहरु जापान जाने भएका हुन् । जापान जाने नेपाली प्रशिक्षकहरुमा मेघराज केसी, राजेन्द्र तामाङ, नविन न्यौपाने, सुनील श्रेष्ठ र यम प्रसाद गुरुङ रहेका छन् । उनीहरु सोमबार जापान प्रस्थान गर्ने छन् । पाँच प्रशिक्षकहरुलाई एन्फाको सहकार्यमा छनोट गरेर विशेष प्रशिक्षणको लागि जापान लैजान लागेको नेपाल स्थित जापानिज दूतावासले जनाएको छ । यस्तै दूतावासले जापान फुटबलको प्रशिक्षण विधि, व्यवस्थापकीय प्रणाली नेपाली प्रशिक्षकलाई सिकाउन तथा जापान र नेपाली प्रशिक्षकहरुबीच भाइचारा सम्बन्ध विकास गर्न नेपाली प्रशिक्षकहरु बोलाइएको जनाएको छ ।
जापान जाने नेपाली प्रशिक्षकरु गत वर्षको फेब्रुअरीमा फिफा एएफसीले आयोजना गरेको ए लाइसेन्स परीक्षामा उत्तीर्ण भएका मध्ये उत्कृष्ट पाँचलाई छनोट गरिएको पछिल्लो समय एन्फा टेक्निकल डिरेक्टरको रुपमा काम गरिरहेका जापान फुटबल एसोसिएसनका सहायक विकास निर्देशक चायाकी ताकेडाले जानकारी दिए ।
“नेपालमा पछिल्लो समय ए लाइसेन्स परिक्षा भएको थिएन, गत वर्षको फेब्रुअरीमा पहिलोपटक ए लाइसेन्स परीक्षा नेपालमा भयो,” टेक्निकल डिरेक्टर ताकेडाले भने, “उक्त परीक्षामा २४ जना सहभागीमध्ये १४ जना सफल भए । एन्फाको सहयोगमा पास भएका मध्येबाट उत्कृष्टलाई छनोट गरेका हौं ।” नेपालमा अहिलेसम्म सी लाइसेन्स दिन सक्ने प्रशिक्षक नभएको उल्लेख गर्दै एन्फा टेक्निकल डिरेक्टर ताकेडाले जापान भ्रमण गरेपछि पाँच नेपाली प्रशिक्षणहरुले नेपालमा सी लाइसेन्स दिन सक्ने भएर आउने बताए ।

यस्तै, नेपाली फुटबल दक्षिण एसियामा उत्कृष्ट रहेपनि प्रशिक्षण प्रणाली पुरानै रहेको बताउँदै एन्फा टेक्निकल डिरेक्टर ताकेडाले जापानको भ्रमण गरेपछि नेपाली प्रशिक्षकहरुले पुरानो प्रशिक्षण विधि छाडेर फरक तरिका र नयाँ तरिकाले प्रशिक्षण दिन सक्ने हुने बताए । ताकेडाले नेपाल र जापानको फुटबल सस्कृति समान भएको कारण नेपालमा जापानको फुटबल प्रशिक्षण र जापानले खेल्ने फुटबल तरिका अपनाउदा नेपाललाई फाइदा पुग्ने बताए ।
“नेपाली खेलाडीहरु दक्षिण एसियाकै उत्कृष्ट छन् तर नेपालमा अझै पुरानै प्रशिक्षण प्रणाली अपनाउने गरिन्छ, जसको कारण नेपाल माथि जान सकेको छैन, ” एन्फा टेक्निकल डिरेक्टर ताकेडाले भने, “जापान कुनै समय नेपालकै अवस्थामा थियो, जब जापानले प्रशिक्षण प्रणाली बदल्यो, तब जापान विश्व फुटबलमा देखा परेको छ । नेपाली फुटबल विकास गर्न नेपाली प्रशिक्षकहरुलाई विश्वकै उत्कृष्ट टोलीले दिने प्रशिक्षण कला सिकाउनु पर्छ । छनोट भएका प्रशिक्षकलाई जापान लगेर पुरानो प्रशिक्षण प्रणाली अहिले काम छैन भन्ने अनुभव गराउन चाहन्छौ ।”
यस्तै ताकेडाले नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जापानिज प्रशिक्षक ग्योतोकु कोजी नेपाल आएपछि नेपालले आफ्नो वरियता सुधार गरेको समेत बताए । नेपाली प्रशिक्षकहरुले जापानमा रहँदा जापान फुटबल एसोसियसन (जेएफए) को प्रशिक्षण तालिममा सहभागी हुनेछन् । त्यस्तै जापानको शिर्ष डिभिजनको जे लिग क्लब शोनन बेलमरे क्लबको सिनियर टोली यू – १५ टोलीका प्रशिक्षणको अवलोकन गर्नुका साथै अन्य खेलकुद पूर्वाधार तथा जेएफएका प्रशिक्षकहरुसँग भेट्ने कार्यक्रम रहेको छ ।
नेपाली प्रशिक्षकहरु ‘स्पोर्ट्स फर टुमरो’ कार्यक्रम अन्तर्गत त्यसतर्फ जान लागेका हुन् । जापान सरकारले टोकियोमा आगामी सन् २०२० मा हुने समर र पारा ओलम्पिक खेलकुदलाई लक्ष्तित गरेर ‘स्पोर्ट्स फर टुमरो’ कार्यक्रम संचालन गरिरहेको छ । ‘स्पोर्ट्स फर टुमरो’ कार्यक्रम अन्तर्गत जापान सरकारले १ सय बढी देशका १० लाख बढी नागरिकलाई खेलकुद संस्कार सिकाउने योजना बनाएको छ ।








