सचिवहरूकाे व्यापक सरुवा, मुख्य सचिवमा रेग्मी नियुक्त

“
कात्तिक ६, काठमाडाैं । सोमबार बसेको मन्त्रीपरिषद बैठकले गृहसचिव लाेकदर्शन रेग्मीलाई मुख्य सचिवमा नियुक्त गरेकाे छ । मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीको मङ्गलवार उमेर हदका कारण पदावधि सकिन लागेकाले गृह सचिव रेग्मीलाई मुख्य सचिवमा बढुवा गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।
त्यसै गरी सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा पूर्व अर्थसचिव युवराज भुसाललाई नियुक्त गरेको छ । डा. गोविन्दराज पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत गर्दै मन्त्रीपरिषद बैठकले सो पदमा पूर्व अर्थसचिव भुसाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
सरकारले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव शंकरप्रसाद अधिकारीलाई अर्थ मन्त्रालयको सचिवमा सरुवा गरेको छ । त्यसै गरी प्रधानमन्त्री कार्यालयका अर्का सचिव इन्द्रप्रसाद उपाध्यायलाई लोकसेवा आयोगको सचिवमा सरुवा गरेकाे छ । क्षेत्रीय प्रशासन कार्यालय हेटौडाका रेश्मीराज पाण्डेलाई सामान्य प्रशासन मन्त्रालयको सचिव, वन मन्त्रालयका सचिव प्रकाश माथेमालाई पशुपंक्षी मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । पशुपक्षी मन्त्रालयका सचिव युवकध्वज जिसीलाई वन मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ । मन्त्रीपरिषद बैठकले विष्णु ओमबादेलाई सचिवमा बढुवा पनि गरेको छ ।
सरकारले विश्व बैङ्कबाट करिब ८० मिलियन डलर अनुदान लिन वार्ता टोली गठन गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ । मन्त्रीपरिषद बैठकले निर्वाचनको पर्यवेक्षकका लागि यूरोपेली युनियनसँगको सम्झदारी पत्रमा हस्ताक्षर गर्ने निर्णय पनि गरेको छ ।
“








