१८ महिना मै डीअाइजी रमेश खरेल स्वदेश फर्कनुकाे यस्ताे छ कारण

५ कात्तिक, काठमाडौँ । प्रहरी सेवामा स्वच्छ छवि बनाएर वाहवाही कमाएका डीआइजी रमेश खरेल सुडानबाट स्वदेश फर्कदै छन् । १८ महिनाअघि संयुक्त राष्ट्रसंघको प्रहरी एकाइमा फिल्ड कमान्डर बनेर गएका डीआईजी रमेश उक्त जिम्मेवारीबाट राजीनामा दिएर स्वदेश फर्किंदै छन् ।

सुडानको डार्फरस्थित राष्ट्रसंघीय मिसन (यूएनएएमआईडी) मा पी–४ अधिकृतका रूपमा उनी कार्यरत खरेल आफ्नो कार्यकाल बाँकी छँदै नेपाल फर्कन लागेका हुन् । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) का रूपमा सुडान गएका खरेल प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवामा परिसकेका छन् ।

फेसबुक स्टाटसमार्फत् डीआईजी खरेलले राष्ट्रसंघीय जिम्मेवारीबाट राजीनामा दिएको जानकारी दिएका हुन् । उक्त जिम्मेवारीका क्रममा आफूले ४२ मुलुकका चार सय प्रहरी अधिकृतहरुलाई ‘कमान्ड’ गर्ने अवसर पाएको उनले उल्लेख गरेका छन् ।

‘यस्तो विशिष्ट अवसर प्रदान गरिदिएकामा नेपाल प्रहरी, गृह मन्त्रालय, नेपाल सरकार र संयुक्त राष्ट्रसंघप्रति आभारी छु,’ उनको फेसबुक स्टाटसमा उल्लेख छ, उनले  द्वन्द्वग्रस्त क्षेत्रमा काम गर्ने अवसर दिने सबैप्रति धन्यवाद पनि दिएका छन् ।

उनले दुई वर्षका लागि उक्त जिम्मेवारी पाएका थिए, जसलाई चार वर्षसम्म लम्व्याउन सकिन्थ्यो । १८ महिनामा सिकेका कुरा स्वदेश फर्केर कार्यान्वयनमा ल्याउने उनले बताएका छन् ।

अवधि बाँकी छँदै खरेल सुडानबाट स्वदेश फर्कनुको कारण भने प्रहरी महानिरीक्षक पद रहेको छ । उनी प्रहरीको भावी नेतृत्वको लाइनमा छन्। ३० वर्षे सेवा अवधिको हद कायमै रहे हालका महानिरीक्षक प्रकाश अर्यालसहित उनको ब्याचका सबै अधिकृत आगामी २९ चैतदेखि अनिवार्य अवकाशमा पर्ने भएकोले त्यसपछि खरेल नै प्रहरी महानिरिक्षक हुने भएकोले त्यसकै लागि उनी आफ्नो समय बाँकी रहँदै स्वदेश आउन लागेका हुन् । प्रहरी महानिरीक्षकको दौडमा उनीसहित सर्वेन्द्र खनाल, पुष्कर कार्कीलगायत अधिकृत भावी महानिरीक्षकको उम्मेदवार बन्ने छन् ।

खरेल २०४५ सालबाट खेलाडीका रूपमा प्रहरी सेवामा प्रवेश गरेका थिए । काभ्रे घर भएका एसएसपी खरेललाई गत असारमा गृह मन्त्रालयको बढुवा सिफारिस समितिले डीआइजीमा बढुवा गरेको थियो । नेपाल प्रहरीमा प्रहरी महानिरीक्षक हुन चर्काे चलखेल हुने गरेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *