टिकट पाउनु भएन चित्त नदुखाउनुस्, राष्ट्रिय सभा बाँकी छ
“कार्तिक ३, काठमाडाैं । नेकपा एमालेले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी नपाउने पार्टीका नेता कार्यकर्तालाई चित्त नदुखाउन आग्रह गरेको छ । प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारको अन्तिम टुंगो लगाउने तयारी भइरहेका बेला शुक्रवार बसेको एमाले स्थायी समिति बैठकले उम्मेदवारी नपाएकै कारण चित्त नदुखाउन पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेको हो ।
पार्टी उपाध्यक्ष बामदेव गौतमको निवास भैसेपाटीमा बसेको बैठकले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा त्याग गरेका नेताहरूलाई राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी दिने निर्णय पनि गरेको छ ।
अहिले त्याग गरेका नेताहरूलाई राष्ट्रिय सभामा उम्मेदवारी दिने निर्णय पनि गरिएको पार्टीका सचिव प्रदिप ज्ञवालीले जानकारी दिए । एमालेले मुलुकको हितका लागि माओवादी केन्द्रसँग चुनावी तालमेल र पार्टी एकीकरण गर्ने सहमति गर्नु परेको स्पष्ट पार्दै त्यसबाट निर्वाचनमा उम्मेदवार बन्न वञ्चित भएका नेता, कार्यकर्ताहरूलाई पनि चित्त नदुखाउन सचेत गराएको छ । ‘मुलुकको बृहत्तर हितका लागि बाम एकता अपरिहार्य देखिएकोले माओवादी केन्द्रसँग तालमेल गरिएकोले कतिपय पार्टीका आकांक्षी टिकट पाउनबाट वञ्चित भए पनि राष्ट्रिय सभामा उम्मेदवारी दिने निर्णय गरिएको छ ।’ ज्ञवालीले भने ।
एमालेले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा पार्टीप्रतिको निष्ठा र लोकप्रियतालाई मुख्य आधार बनाएर उम्मेदवार चयन गरिएको पनि स्पष्ट पारेको छ ।
पहिलो चरणमा हुने ३२ जिल्लामा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षमा एमाले ४१ र माओवादी केन्द्रले ३३ सिट लिने सहमति भइसकेको छ । दुवै दलले समानुपातिक तर्फभने आ–आफनै पार्टीबाट उम्मेदवारी दिएका छन् । आगामी आईंतबार प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन हुँदैछ ।
“