नेपालकै एक गाउँ जहाँ भैली, देउसी खेल्न पाइँदैन

कात्तिक २, जाजरकाेट । जिल्लाका अधिकांश ठाउँमा तिहारको रमझम बढेको भए पनि यहाँको एक गाउँमा भने सुनसान देखिएको छ । बारेकोट गाउँपालिका–४ लैखममा सुनसान देखिएको हो ।

लैखम नजिकैका गाउँमा तिहारको दैउसी, भैली खेल्ने युवायुवतीको दर्जनाै समूह आए पनि लैखमगाउँमा भने आउन कसैले मान्दैनन् । वर्षौंदेखि महादेवको भैलो प्रत्येक दुई वर्षमा एक पटक गाई तिहारका दिनदेखि महिना दिनसम्म मनाउने भएकाले यहाँ अन्य भैली खेल्ने समूह आउन पाउँदैनन् । अन्य भैली खेल्ने टोली आएमा महादेवको भैलोले असर गर्ने भएकाले यस लैखम गाउँमा भैली, देउसी खेल्ने युवायुवती आउन नपाउने विगत देखिको सामाजिक परम्परा नै रहेको लैखमका जयबहादुर खत्रीले बताए ।

महादेवको भैलो खेल्दा प्रत्येक दुई वर्षमा विशेष समूह बनाएर एक महिनासम्म खेल्ने र अन्त्यमा भैलो मार्ने गरिन्छ । भैलो मार्दा बेहुला, बेहुला बनाई कृत्रिम विवाह गराउने गरिन्छ । यो भैलो हेर्ने जिल्लाका अधिकांश गाउँबाट लैखममा दर्शकहरु पुग्ने गर्दछन् । लैखमका प्रत्येक घरबाट भैलो मनाउनका लागि रकम र चामल सङ्कलन गरिन्छ । बाटोमा हिँड्ने यात्रुबाट पनि रकम उठाउने गरिन्छ । यात्रुले भैलोलाई पैसा दिएबापत घरेलु अन्नबाट बनेको विशेष मिठाई दिने चलनसमेत रहेको छ । लैखममा अहिलेसम्म दलित बस्ती बस्न सकेको छैन । दलितले यो गाउँमा बस्ने बित्तिकै अनिष्ट हुने विश्वासका कारण बस्न नसकेको खत्रीको भनाइ छ ।

गाउँमा रमाइलोका लागि वा देवतालाई खुसी बनाउन नभई महादेवको भैलो प्रत्येक दुई वर्षमा एक पटक खेल्ने गरिन्छ । यो मनाउन छाडेमा महादेवले हानि गर्ने भएपछि आफूहरू यस्तो कार्य गर्न बाध्य भएको स्थानीयवासी बताउँछन् । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *