किन लल्बियो भरतपुर प्रकरण ?


किशोर खनाल,भरतपुर । नेकपा एमाले चितवनले भरतपुर प्रकरण लम्बिनुमा दुई कारण देखेको छ । ‘एउटा कारण यसलाई धकेलीधकेली पुनः मतदान गराउने षडयन्त्र हुनसक्छ, अर्को कारण दोस्रो चरणको चुनावमा पनि अन्त फेरि मतपत्र च्यातिन सक्छ भन्ने बुझाइ राखेर सर्वोच्चले यसलाई लम्बाएको हुन सक्छ’ एमाले जिल्ला इन्चार्ज कृष्ण खनालले भने ।
माओवादी केन्द्रले भने सर्वोच्च अदालत आफ्नै नीति नियममा रहेर बहस र अध्ययनबाट मात्र फैसला गर्ने भएकाले प्रकरण लम्बिएको बताउँछ । ‘सर्वोच्चले हचुवाको भरमा फैसला गर्न मिल्दैन, उसको पनि नीति नियम होला, उसले पनि सबै पक्षमा बहस गर्न बाँकी नै होला । सक्कल कागजात मागेको छ । घटनाको जरासम्म पुगेपछि एउटा फैसला गर्ला’ माओवादी केन्द्रका जिल्ला सह–इन्चार्ज घनश्याम दाहाल ‘अविनाश’ले भने, ‘हामीलाई चाँडो फैसला गर्दिएजस्तो त लाग्छ । तर सर्वोच्चले पनि आफ्नो विधिविधान त पूरा गर्न प¥यो नि ।’
महानगरको विकास रोकियो
भरतपुर महानगरपालिकाले विवादका कारण समयमै जनप्रतिनिधि नपाउँदा धेरै समस्या भोग्न परेको छ । जनप्रतिनिधि नभएकाले नगर परिषद् बस्न सकेको छैन । विकासका गति अघि बढेका छैनन् । ‘नगर परिषदबाटै बजेट, नीति तथा कार्यक्रमहरु बनाउनुपर्छ । जनप्रतिनिधि नभएकाले नगर परिषदसमेत बस्न सकेको छैन’ भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत प्रेमराज जोशीले भने, ‘जनप्रतिनिधि नहुँदा समग्रमा महानगरको विकास नै रोकिएको छ ।’
जनप्रतिनिधि नभएकाले नीतिहरु बन्न सकेको छैन । बजार अनुगमनमा बाधा पुगेको छ । जनताका कामहरु चुस्त र सहजरुपमा हुन सकेको छैन । ‘महानगरमा धेरै समस्या छन् । रंगशाला बनाउनु छ । सभागृह बनाउनु परेको छ । महानगरमा ल्याण्डफिलसाइट छैन’ कार्यकारी अधिकृत जोशीले भने, ‘जनप्रतिनिधि नहुँदा यी कामहरु अघि बढ्न सकेको छैन ।’
भरतपुर महानगरपालिकाको विवाद प्रकरण मंगलबार टुङ्गो लाग्न सकेन । भरतपुर १९ नं. वडाको मतपत्र च्यातिएपछि निस्केको विवाद सर्वोच्चसम्म पुग्दा पनि अझै टुङ्गो लाग्न सकेको छैन । मंगलबार फैसला हुने भनिए पनि सर्वोच्च अदालतले वडा नं १९ को च्यातिएको मतपत्र एक हप्ताभित्र झिकाउन आदेश दिएको छ ।








