देशको सर्वाङ्गिण विकासका लागि नेपाली काँग्रेस

“
सेवा गर्ने मान्छेको नाम फोहोरी नै राखिन्छ । जुत्ताले आफू अनेक यातना र चोट सहेर पनि खुट्टा मात्रै हैन सिङ्गो शरीर नै सुरक्षित राखेको हुन्छ तर, कहिल्यै पनि संघारबाट भित्र पस्न पाउँदैन । छि छि दूर दूरको अपमान सहेर अलग्गै बस्नु परेपनि अबिराम सेवा दिई रहन्छ जीवनभर ।
कथित माओवादी जनयुद्धले आक्रान्त बनेको मुलुकमा तत्कालीन जनजिबन कति त्राहिमान थियो, बिहान मेला गएको श्रीमान् हराएकाहरुको अझै सम्म फर्किने आसमा आँखा टोलाई रहेका होलान् । स्कुल गएको बालबच्चा बिना कसुर मारिँदा कोख रित्तिएकी आमाका आशु अझै ओभाएका छैनन् । ऋतुले थुप्रै पालुवा फेरिसक्यो कहिले रङ्गिन फुले फुल । कति उजाडिए जङ्गल । तर, कर्तब्यपालनाका सिलसिलामा मारिएका गरिबका छोरा छोरी ती सेना प्रहरीका श्रीमती हरुको उजाडिएका सिउँदोमा कहिल्यै आएन हरियाली । नत ती बस्तु चराउन गएका सकुसल फर्किए नत माछा मार्न गएकाहरु नै । संम्साझै सुत्नुपर्ने, बिस्तारै थुक्नु पर्ने, घरभित्रै मुत्नु पर्ने स्थितिमा मुलुक चली रहँदा त्यति बेला चारै तिर शान्तिको कामना गरिन्थ्यो । मन्दिर र देवालयमा पूजा गरिन्थ्यो, अनि मागिन्थ्यो जताततै शान्ति ।
हो, यही अवस्थाले मुलुक ग्रसित भइरहेको बेला तत्कालीन काङ्ग्रेस सभापति तथा प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको सुझवुझ र चलाखीका कारण बृहत् १२ बुँदे शान्ति सम्झौता भएको थियो । त्यसैलाई टेकेर जङ्गल तिर बौलाई हिँडेको माओवादी राजधानी छिरेपछी ०६२/०६३ जन आन्दोलन गर्दै काङ्ग्रेस कै प्रमुख नेतृत्वमा २५० वर्ष पुरानो राज संस्था फालेर लोकतान्त्रिक गणतन्त्र स्थापना भएको कुरा कसैबाट लुकेको छैन ।
पहिलो संविधान सभाको अवधि सकिउन्जेलसम्म पनि कम्युनिस्टका धेरै सरकार नबनेका होइनन् । कुनै सरकार छैन जहाँ कम्युनिष्टहरुको सहभागिता नभएको होस् । तर, सत्तामा गएका कम्युनिष्टहरुले संविधान निर्माणका लागि भन्दा पनि सत्तामुखी बनी आफ्नै निजी सेवा सुविधा तिर केन्द्रित बनेका तथ्य जग जाहेर छ ।
दोस्रो संविधान सभा पछि गठित मुलुकको ठुलो दल नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाको नेतृत्वको सरकारले नै संविधान जारी गर्यो । र, मुलुकलाई स्थायी शान्ति तर्फ उन्मुख गरायो । त्यसपछि बनेका सत्ता सार्थका सरकारले कुनै उपलब्धि हासिल गर्न सकेनन् । रुपान्तरित संसद्को केपि ओली र प्रचण्ड गठबन्धनको सरकारले समेत मुलुकलाई शान्ति र विकासको पथमा लैजान खासै ठुलो उपलब्धि हासिल गर्न सकेन । खास गरी २०७४ माघ ७ सम्म तिनै तहको चुनाव गराउनु पर्ने जिम्बेवारी बोकेको सरकार आफ्नै सत्ता गठबन्धनमा रुमलियो । केपी ओलीको सरकार पुरै उखान टुक्का र चुटकिलामा रमाउँदै राष्ट्रबादी बन्ने दाउमा लिप्त बन्यो । अन्ततः आफ्नै सहकर्मीबाट अन्तर्घात ब्यहोर्दै बाहिरिनु पर्यो ।
त्यसपछिको सत्ता समिकरणले नेपाली काँग्रेसको नेतृत्वमा बनेको सरकारले स्थानीय निकायको निर्वाचन पुरा गर्दै अहिले प्रतिनिधि र क्षेत्रीय सभा निर्वाचन गर्ने तयारीमा जुटेको छ । अहिलेको सरकारले मुख्य रूपमा संविधान कार्यान्वयनका लागि आवश्यक निर्वाचनलाई प्राथमिकता दिइरहँदा यो सरकारलाई कमजोर पार्न लागेका कम्युनिष्टहरु लाग्नु मुलुकको लागि हितकर छैन ।
अहिलेको राजनीतिक ध्रुविकरणले मुलुकलाई सही दिशा दिन सक्ने अवस्था छैन । एउटै सोच र विचार भएका दलहरू बिच सहकार्य हुनु नौलो हैन । तथापि, कम्युनिष्टहरुको ध्रुविकरणले मुलुकलाई पुनः एक तन्त्रिय शासन व्यवस्था तिर लैजान सक्ने अवस्था छ । यस्तो बेलामा हामीले प्रजातान्त्रिक विचारधारा बोकेको राष्ट्र राष्ट्रियता र समाजवादको विचार बोकेको नेपाल नेपाली जनताको शान्ति र विकासका लागि प्रतिबद्ध पार्टी नै रोज्नु आजको आवश्यक्ता हो । यस्तो पार्टी भनेको कुनै कम्युनिस्ट शासन व्यवस्थाबाट प्रभावित भएको हुँदैन । कुनै व्यक्ति र वादबाट परिचालित हुँदैन । यो पार्टी भनेको लोकतन्त्र, गणतन्त्र र समावेशी सिद्धान्तबाट प्रेरित भएको हुन्छ । यसले देश र जनताको सर्वाङ्गिण विकासका लागि काम गर्दछ । र अहिलेको वर्तमान अवस्थामा जातीय, वर्गिय, क्षेत्रीय, सामाजिक, आर्थिक, सांस्कृतिक विकासका लागि नेपाली काँग्रेसको विचारधाराबाट मात्र यो सम्भव छ ।
“








