उपत्यकामा छब्बिस हजार चालकले विना लाइसेन्स सवारी चलाउँदै

असाेज ३०, काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नलिई सवारी साधन चलाउनेको सङ्ख्या बढ्दो छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७३।७४ मा २६ हजार ५२९ जनाले बिना लाइसेन्स सवारी साधन चलाएको पाएको छ । महाशाखाले उपत्यकाका विभिन्न स्थानमा चेकजाँच गर्दा उक्त सङ्ख्यामा चालक कारबाही गरेको हो ।

महाशाखाका प्रमुख एवम् प्रहरी नायव महानिरीक्षक सर्वेन्द्र खनाल कानुनको परिपालना नगरी अनधिकृत रूपमा लुकीछिपी सवारी साधन चलाउनेको सङ्ख्या धेरै रहेको बताउनुहुन्छ । “विना लाइसेन्स भित्री सडकमा सवारी साधन चलाउने चालक धेरै छन्, ट्राफिक प्रहरीले यस्ता चालकमाथि विशेष अभियान चलाएको छ,”–प्रमुख खनालले भन्नुभयो ।

उहाँले सवारी साधनको वृद्धिसँगै लाइसेन्स नलिई सवारी चलाउने चालकको सङ्ख्यामा समेत वृद्धि हुँदै गएको बताउनुभयो । महाशाखाले अहिले बिना लाइसेन्स सवारी चालक चलाउने चालकमाथि रु एक हजार जरिवना लिँदै आएको छ । पहिला रु २५० राजश्व लिँदै आएको महाशाखाले २०७३ वैशाख १३ गतेको निर्णय अनुसार एक हजार राजश्व लिँदै आएको हो ।

पक्राउ परेका सवारी साधन फिर्ता भने सम्बन्धित सवारी धनी वा चालकको आफन्तले लाइसेन्स लिएर आएपछि मात्र गर्ने गरिन्छ । हाल काठमाडौँ उपत्यकामा मात्र ११ लाखको हाराहारीमा सवारी साधन रहेको यातायात व्यवस्था विभागले जनाएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *