लेखनाथ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा भण्डारी निर्वाचित

असाेज २९, पोखरा । उद्योगी तथा ब्यापारीहरुको छाता सङ्गठन लेखनाथ उद्योग वाणिज्य सङ्घको आगामी कार्यकालको लागि कृष्णहरि भण्डारी अध्यक्षमा विजयी भएका छन् । उनले ८ सय २४ मत ल्याएर विजयी भएका हुन् । भण्डारीका प्रतिद्धन्दी बसन्तमोहन भट्टराईले ३ सय ७ मत प्राप्त गरेका थिए। विजयी भण्डारी र भट्टराई बिचको मत अन्तर ५ सय ७ रहेको छ। निर्वाचित भण्डारी वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष हुन् । निर्वाचनमा एक सदस्यबाहेक अन्य पदका सबै पदाधिकारी भण्डारी प्यानल कै विजयी भएका छन् ।

निर्वाचनमा एक हजार एक सय ५७ मत खसेकोमा आइतबार बिहान सवा ३ बजेमात्र मतगणना सकिएको निर्वाचन आयुक्त अधिवक्ता खगेन्द्रराज आचार्यले जानकारी दिए । उनका अनुसार अध्यक्षमा विजयी भण्डारीले ८ सय २४ र भट्टराईले ३ सय १७ मत प्राप्त गरेका छन् । विधान संशोधनपछि भएको विभिन्न १७ पदका लागि ३२ जना चुनावी मैदान उत्रिएका थिए । भण्डारी र भट्टराई राजनीतिक रूपमा एउटै खेमाका भए पनि सङ्घको चुनावका लागि छुटाछुटै प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए । यसपालि थपिएकोे वरिष्ठ उपाध्यक्षमा वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष बलराम ढकाल ६ सय ६५ मतका साथ विजयी भए । उनका प्रतिस्पर्धी गीतादेवी सुवेदीले ४ सय ५० मत प्राप्त गरिन् ।

यस्तै, प्रथम उपाध्यक्षमा वर्तमान महासचिव छत्रधर आत्रेय ८ सय ४२ मत प्राप्त गरी विजयी हुँदा मेजर रामप्रसाद गुरुङले २ सय ६७ मत प्राप्त गरे । भने, द्वितीय उपाध्यक्षमा विनोदकुमार श्रेष्ठले ७ सय १८ मतसहित विजयी हुँदा प्रत्यासी दयाराम तिवारीको पक्षमा मात्र ४ सय ८ मत परेको थियाे । महासचिवमा भरतकुमार अधिकारी झिनो मतअन्तरले विजयी हुन सफल भए । उनी ५ सय ६० मतसहित विजयी हुँदा महासचिवका प्रत्यासी ऋषिराम जमरकट्टेलले ५ सय ५३ मत प्राप्त गरेका थिए । यसै गरी, उपमहासचिवमा वर्तमान कोषाध्यक्ष गोपिचन्द्र बास्तोला ६ सय ३५ मतका साथ विजयी भएका छन् भने प्रतिद्वन्द्वी दामोदरभक्त थापाले ४ सय ७२ मत प्राप्त गरेका थिए ।

कोषाध्यक्षमा राजेन्द्र ओझा विजयी भए । उनले ८ सय ९२ मत ल्याए भने प्रतिद्वन्द्वी सोमतबहादुर श्रेष्ठले २ सय २० मत ल्याए । दुई महिला सदस्य पदमा जानुका अधिकारी ८ सय ३४ र राधा सापकोटा ६ सय ८८ मतसहित विजयी भइन् । महिला सदस्यका अर्का उम्मेदवार लक्ष्मी बास्तोलाले ४ सय ७१ मत प्राप्त गरिन् । यसअघि महिला आरक्षण एक जनामात्र रहेकोमा यसपालि बढाएर दुई बनाइएको छ ।

आठ खुल्ला सदस्य पदमा १५ जनाबीच भएको प्रतिस्पर्धामा भण्डारी प्यानलबाट सात र भट्टराई प्यानलबाट एक जना विजयी भए । भण्डारी प्यानलबाट उपेन्द्रराज सुवेदी राजु ८७१, रामजी पौडेल ७५०, मेनुका श्रेष्ठ ७२७, भरतराज ओझा ६९३, सरोजराज अधिकारी ६७७, भीमबहादुर नेपाली काईला ६२४, शिवप्रसाद भण्डारी ६२१ र भट्टराई प्यानलका धीरजकुमार श्रेष्ठ ५७६ विजयी भएका छन् ।

सदस्यमा अशोकप्रसाद बराल ९४६१०, गणेश अधिकारी ९२७५०, मधुसुदन कोइराला ९४५४०, महेश्वर आचार्य ९३८५०, रमेशराज पौडेल ९३९८०, रुद्ररमण रेग्मी ९३१३० र सप्तनाथ कुँवर ९३३८० पराजित भए । तीमध्ये अशोक भण्डारी प्यानलका हुन् । सङ्घमा संस्थागततर्फ शैलेन्द्रमोहन भट्टराई र एशोसियटतर्फ प्रशान्तराज धमला यसअघि नै निर्विरोध भएका थिए । २३ सदस्यीय कार्यसमितिमा निर्वाचत अध्यक्षले तीन जना सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ । निवर्तमान अध्यक्ष पदेन सदस्य रहनेछन् ।
विगतमा भने अध्यक्ष र सदस्यका लागि मात्र मतदान हुने गरेकोमा यस पटक सबै पदाधिकारीमा निर्वाचन भएको हो। सङ्घका नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *