पाँचौ रामबजार महोत्सव सुरु

असाेज २०, पोखरा । पाँचौ संस्करणको रामबजार महोत्सव शुक्रवारदेखि सुरु भएको छ । महोत्सवको उद्घाटन पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले गरेका छन् । संस्कृतिको संरक्षण र आन्तरिक पर्यटनको प्रबद्र्धन गर्ने उदेश्यले आयोजित महोत्सव १ हप्ता सम्म सञ्चालन हुने छ ।

महोत्सवको उद्घाटन गर्दै जिसीले देशलाई आर्थिकरुपमा समृद्ध र समुन्त बनाउन युवाको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै मुलुकको समृद्धी र बिकासकोलागि अगाडी बढ्न आग्रह गरे ।

स्थानीय युवाहरूको अगुवाईमा गरिएको रामबजार महोत्सवले यहाँको आर्थिक क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । पोखराको विकास, भौतिक पूर्वाधार, हरियाली सहर निर्माणमा युवाहरूको सहयोग आवश्यक रहेको बताउँदै क्लबले महोत्सव आयोजना गरेर युवाहरूलाई सतमार्गमा लाग्न प्रेरित गरेको बताए ।

महोत्सव असोज २० गतेदेखि २८ गतेसम्म सञ्चालन हुने आयोजक रामबजार यूथ क्लबका अध्यक्ष धनबहादुर पुनले बताए । महोत्सवमा प्रत्येक दिन बिहान पतञ्जली योगपिठ नेपालले योगा सिकाउने छ । यो निःशुल्क हुने आयोजकले जनाएको छ । दिउँसोको समयमा लोकदोहोरीको प्रस्तुति प्रत्येक दिन रहने छ । साँझ दर्शकले लाइभ म्युजिकको मज्जा लिन पाउने आयोजकले जनाएको छ । त्यसै गरी महोत्सवमा विभिन्न कलाकारहरूको हाँस्य प्रस्तुति पनि रहने क्लबका सचिव राजु आलेले बताए ।

महोत्सवमा लोकदोहोरीतर्फ बिमाकुमारी दुरा, पशुपति शर्मा, ज्योति मगर, प्रीति आले, प्रजापति पराजुली, बद्रि पंगेनी, पुरुषोत्तम न्यौपाने, जीवन दाहाल लगाएतका कलाकारहरूको प्रस्तुति रहनेछ ।

त्यस्तै साँझपख हुने लाइभ म्युजिकमा आशिष् राना लाउरे, सुगम पोखरेल, प्रयत्न श्रेष्ठ, दीपक बज्राचार्य, नरेन लिम्बु, अल्मोडा राना उप्रेती, द स्याडोज ब्याण्ड, रोबिन एण्ड न्यू रिभोल्यूसन, देउराली ब्याण्ड, मुक्ति एण्ड रिभाइभल लगाएतको प्रस्तुति रहने आलेले जानकारी दिए ।
प्रत्येक दिन साँझपख महोत्सवमा लाइभ कन्सर्टसँगै फेशन सो समेत हुनेछ । फेशन सो कार्यक्रममा पोखरा, काठमाडौँ र बुटवलका १२ भन्दा बढी मोडलहरुको प्रस्तुति रहने छ । त्यस्तै महोत्सवमा सन्दिप क्षेत्री र कार्टुन क्रुजको पनि विशेष प्रस्तुति रहनेछ ।

बालबालिकाको लागि आयोजकले महोत्सवस्थलमा ‘फनपार्क’ को व्यवस्था पनि गरेको छ । महोत्सवस्थलमा दर्शकले मनोरञ्जनसँगै खानपिन र किनमेलको लागि १५ वटा स्टलको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

क्लबले महोत्सवको व्यवस्थापनको सम्पूर्ण जिम्मा ‘गरुड इन्टरटेनमेन्ट’ नामक इभेन्ट कम्पनीलाई दिएको छ । कम्पनीका सञ्चालक प्रदिप पहारीले महोत्सव निकै व्यवस्थित हुने दाबी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 10 =