चुनावी माहोल बनाउन प्रधानमन्त्री देउवा उपत्यका बाहिर

असार ८, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि (शुक्रबार) देखि चुनाव नसकिए सम्मका लागि काठमाडौं छोड्दै छन् । देउवा पार्टीका लागि चुनावी माहोल बनाउन तथा भोट हाल्नका लागि झण्डै एक साताअघि नै सुदूरपश्चिम जान लागेका हुन् । यो अवधिमा उनी ७ नं. प्रदेशमा सक्रिय रहने छन् । कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले कैलालीका केही चुनावी कार्यक्रममा सहभागिता जनाएर गृहजिल्ला डडेलधुरामा बढी समय दिने छन् ।
उम्मेदवार छनोटको विषयलाई लिएर कैलाली र डडेलधुरामा पार्टीभित्रै असन्तुष्टि छ । यो समस्या सल्ट्याउन पनि उनी छिट्टै त्यतातिर लाग्न लागेका हुन् । भोलि गएपछि देउवा भोट हालेर मात्र काठमाडौं फर्किने बताईएको छ । उनी डडेलधुराको गन्यापधुरा गाउँपालिकाका मतदाता हुन् । उनले वडा नम्बर १ असिग्रामबाट मतदान गर्नेछन् । कैलाली र डडेलधुराबाहेक ७ नम्बर प्रदेशका अन्य जिल्लामा पनि चुनावी कार्यक्रममा सहभागीता जनाउने देउवको चाहना छ ।









