नेपालको भूवनावट जोखिमयुक्त

असाेज २७, काठमाडाैं । भूवैज्ञानिकहरुले नेपालको भूवनावट जोखिमयुक्त रहेकोतर्फ सरकारलाई सचेत गराएका छन् । भूवैज्ञानिक डा. कविराज पौडेलले नेपालको भूबनावट जोखिमयुक्त रहेकाले त्यसबाट हुने क्षति न्यूनिकरणका लागि आवश्यक कदम चाल्न समेत सरकारलाई सचेत गराएका छन् ।

विश्व प्राकृतिक विपत्ति दिवसको अवसर पारेर शुक्रवार काठमाडाैंमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालका चट्टानहरुमा दरार आएकाले पहिरो आउने क्रम बढदै गएको र हिमतालहरु पनि फुटेर जाने सम्भावना बढेर गएकाले त्यसबाट हुने क्षति न्यूनिकरण गर्न सरकारले ढिलाइ गर्नु नहुने बताएका हुन् ।

नेपाल भूवैज्ञानिक समाजका अध्यक्ष समेत रहेका पौडेलले नेपालमा ठुलै प्राकृतिक विपत्ति आईपर्ने सम्भावना अझै रहेको औल्याउँदै त्यसबाट हुने क्षति न्यूनिकरणका लागि सरकारले तयारी गर्नुपर्ने धेरै विषयहरू भएको पनि उल्लेख गरे । अर्का, भूवैज्ञानिक डा. कमलापन्थ आचार्यले प्राकृतिक विपत्तिबाट आईपर्ने जोखिम न्यूनिकरणका लागि सरकारलाई तयारी अवस्थामा रहन सुझाव पनि दिए ।

भूवैज्ञानिकहरुले भूकम्पबाट हुने क्षति न्यूनिकरणका विषयमा पनि उच्च सतर्कता अपनाउन सरकारलाई सुझाव दिँदै आएका छन् । यस वर्षको विश्व प्राकृतिक विपत्ति दिवसको नारा ‘सुरक्षित घर’ भन्ने रहेको छ । बासस्थानलाई सुरक्षित बनाएर मात्रै प्राकृतिक विपत्तिबाट हुने जोखिमलाई न्यूनिकरण गर्न सकिने विश्वास जगाउन यस वर्षको मुख्य नारा ‘सुरक्षित घर’ तय गरिएको भूवैज्ञानिकहरुको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =