अन्नपूर्ण आधार शिविरमा प्रथम हिमाल आरोही मोरिस हर्जोगको सालिक शिलान्यास

एन एच पौडेल, पोखरा । अन्नपूर्ण हिमालको आधार शिविरमा विश्वकै प्रथम हिमाल आरोही मोरिस हर्जोगको सालिक शिलान्यस गरिएका छ। आरोहणको ६७ वर्ष पछि अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको अवसरमा सालिकको शिलान्यास गरिएको हो । व्यवस्थापिका संसद् विकास समितिका सभापति रविन्द्र अधिकारीले आरोही हर्जोगको सालिक शिलान्यास गदै महोत्सवको उद्धघाटन गरेका हुन् ।

तीन चरणमा सम्पन्न हुने महोत्सवका कार्यक्रम अन्तर्गत पहिलो चरणमा बुधवार आधार शिवरमा सालिक शिलान्यास सहित विभिन्न कार्यक्रम गरिएको हो । सन् १९५० जुन ३ तारिखमा सर्वप्रथम फ्रान्सका हिमाल आरोही मोरिस हर्जोगले अन्नपूर्ण प्रथमको सफल आरोहण गरेसँँगै विश्वमा नै हिमाल आरोहण सुरु भएको थियो ।

महोत्सवको बुधवार आयोजित उद्घाटन समारोहमा व्यवस्थापिका संसद् विकास समितिका सभापति रविन्द्र अधिकारीले विश्वमा नै सबैको चासो चर्चा हुने अन्नपूर्ण हिमाल जस्ता हिमश्रृङखला र अन्य पर्यटकीय सम्पदा नेपालमा रहेर पनि त्यसको उपयोग गर्न नसकेको बताए ।

“विश्वमा अन्य राष्ट्रसँग नभएका तर हामीसँग भएका त्यस्ता सम्पदा के छन्, सर्वप्रथम हामीले त्यसको पहिचान गर्न सक्नुपर्छ ।” उनले भने, “पर्याप्त सम्भावना भएर पनि त्यसको उपयोग गर्न नसक्दा हामी पछि परेका छौँ ।”

सांसद शारदा पौडेलले अन्नपूर्ण क्षेत्र पर्याप्त पर्यटकीय सम्भावना भएर पनि अपेक्षित विकास हुन नसकेको बताउँदै यस क्षेत्रमा हिमाली दृश्यावलोकन, पदयात्रा आदिलाई व्यवस्थित गर्न सके मात्र पनि यस क्षेत्रको आर्थिक एवम् सामाजिक विकास गर्न सकिने बताइन् ।

अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवरले पर्यटनको वास्तविक राजधानी अन्नपूर्ण क्षेत्र भएको बताउँदै यहाँको पर्यटकीय विकासका लागि जस्ता योजना ल्याउन पनि गाउँपालिका तयार भएको बताए । अन्नपूर्ण हिमालको दृश्यावलोकनका साथै यहाँको पदयात्रामा आउने पर्यटकको सुविधालाई दृष्टिगत गरी पदमार्गको उचित व्यवस्थापन, होटेलको क्षमता अभिबृद्धि आदि विषयलाई गाउँपालिकाले प्राथमिकतामा राख्ने उनले बताए ।

प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले अन्नपूर्ण आधार शिविरमा गरिएको महोत्सव यस क्षेत्रको समग्र विकास एवम् समृद्धिका लागि कोषे ढुङ्गा साबित हुने बताए । कार्यक्रममा नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख उदय भट्टराई, टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष दीपक अधिकारी, पर्यटन व्यवस्थापन उप समिति छोम्रुङका अध्यक्ष इन्द्रमणि शर्मा, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव गोविन्द गजुरेल, लगायतले अन्नपूर्ण क्षेत्रको महत्त्व र यसका सम्भावना बारे प्रकाश पारेका थिए ।

विश्वका प्रथम हिमाल आरोही फान्सेली नागरिक मोरिस हर्जोगको सालिक शिलान्यास सँगै अन्नपूर्ण प्रथम आरोहणका लेजन अफिसर कर्णेल घन विक्रम राणाको परिवारका सदस्यलाई सम्मान गरिएको थियो । फ्रान्सेली टोलीद्वारा आरोहण गरिएको अन्नपूर्ण प्रथम हिमालको उचाइ ८ हजार ९१ मिटरको रहेको छ ।

कार्यक्रमममा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका तर्फबाट उक्त क्षेत्रमा रहेका विभिन्न समस्याको समाधानको माग गर्दै व्यवस्थापिका संसद् विकास समितिका सभापति रविन्द्र अधिकारी र सांसद शारदा पौडेललाई ध्यानाकर्षण पत्र प्रस्तुत गरिएको थियो । ध्यानाकर्षण पत्रमा पदमार्ग क्षेत्रमा लामो समयदेखि होटेल सञ्चालन गर्दै आएका व्यवसायीको भोगाधिकारको सुनिश्चितता, पदमार्गको स्तरोन्नति, होटलका कोठाको क्षमता अभिबृद्धि लगायतका विषय समेटिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *