निर्माण व्यवसायी महासङ्घका अध्यक्ष गौचनप्रति प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली अर्पण

काठमाडौं, असोज २६ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको पार्थिव शरीरमा आज अन्तिम श्रद्धाञ्जली अर्पण गर्नु भएको छ । प्रधानमन्त्री देउवा महासङ्घको कार्यालय अनामनगर पुगी अध्यक्ष गौचनको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।

देउवाले स्वर्गीय गौचनका परिवारसँग भेट गरी समवेदनासमेत प्रकट गर्नुभएको थियो । गौचनप्रति श्रद्धाञ्जली अर्पण गर्न गृहमन्त्री जनार्दन शर्मा, गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठ, शुभेच्छुक तथा आफन्तहरू महासङ्घको कार्यालय पुग्नुभएको थियो । गौचनको शव १० देखि १ बजेसम्म महासङ्घको कार्यालय अनामनगर राखिएको थियो । अध्यक्ष गौचनको गत सोमबार दिउँसो नयाँ बानेश्वरस्थित घरबाट निस्कने क्रममा अज्ञात समूहको गोली प्रहारबाट निधन भएको थियो ।

गौचनको हत्यारालाई चाँडै पत्ता लगाई कारबाही गर्नुपर्ने, गौचनलाई शहीद घोषणा गर्नुपर्ने र निर्माण व्यवसायीलाई सुरक्षा दिनुपर्ने लगायतका माग राखी गौचनको शव महासङ्घ र परिवारले यसअघि बुझ्न मानेका थिएनन् । हिजो गृहमन्त्री जनार्दन शर्माले गौचनलाई शहीद घोषणा गर्ने र व्यवसायीको सुरक्षाको व्यवस्था मिलाउने आश्वासन दिनुभएपछि आज गौचनको शवलाई अन्त्येष्टि गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *