पुरानो पार्टी भत्काएर नयाँ पार्टी बनाउने मेराे पूरानाे बानी : प्रचण्ड

असाेज २५, काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुरानो पार्टी भत्काएर नयाँ पार्टी बनाउने आफ्नो काम भएको बताएका छन् । नेकपा एकता केन्द्र हुँदै माओवादी केन्द्रसम्म आइपुग्दा आफूले विभिन्न पार्टीहरू भत्काएर नयाँ बनाएको प्रचण्डले बताएका हुन् ।

नेकपा संयुक्तसँग पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘मैले जहिले पनि पुरानो पार्टी भत्काउने, नयाँ पार्टी बनाउने । आन्दोलनको पुरानो रूप भत्काउने, नयाँ रूप अवलम्बन गर्ने । समाजमा एउटा नयाँ तरङ्ग पैदा गर्ने, मान्छेका दिमागमा नयाँ बहस सृष्टि गर्ने र त्यही प्रक्रियामा समाजमा क्रान्तिकारी परिवर्तन ल्याउने कुरामा विश्वास गरेँ । मैले र हाम्रो पार्टीले मार्क्सवादलाई त्यसरी नै बुझ्यौं ।’

प्रचण्डले थपे, ‘४६ सालको जनआन्दोलन अगाडि नेपालका विभिन्न कम्युनिस्ट आन्दोलनका विभिन्न घटकमध्ये एउटा घटकको महामन्त्री बन्ने अवसर प्राप्त भयो, जतिबेला महामन्त्री बनें । मेरो काम चाहिँ आफू महामन्त्री बनेको पार्टी भत्काउने नै भयो । म महामन्त्री बनेको केही महिनामै एकता केन्द्र बनेर मशाल भन्ने पार्टी भत्काएँ । एकताकेन्द्र पाँच वर्ष चलाएपछि एकताकेन्द्र पनि भत्काएर माओवादी बनाएँ । १० वर्ष माओवादी जनयुद्ध भएपछि माओवादी भत्काएर एकीकृत माओवादीमा गएँ । अनि केही वर्ष एकीकृत माओवादी भए पछि त्यो पनि भत्काएर हामी माओवादी केन्द्र भएका छौँ ।’

प्रचण्डले अब माओवादी केन्द्र पनि भत्किने र नयाँ बन्ने बताए । एमाले लगायतका दलसँग पार्टी एकता प्रक्रिया अघि बढेको प्रसङ्गलाई जोड्दै प्रचण्डले भने, ‘अब माओवादी केन्द्र पनि भत्किँदै छ र अर्को एउटा नयाँ पार्टी र नयाँ शक्ति देशमा पैदा हुँदैछ ।’

नयाँ परिस्थितिले नयाँ शिराबाट सोच्नु पर्ने अवसर र चुनौती दुवै खडा गरिदिएकाले एमाले लगायत दलसँग एकताको प्रक्रिया अघि बढाएको प्रचण्डले स्पष्ट पारे । यो एकताले नेपालबाट समाजवादको नयाँ मोडल दिन सकिने प्रचण्डको विश्वास छ ।

‘प्रतिकुल अन्तर्राष्ट्रिय परिस्थितिका बाबजुद नेपालको वामपन्थी आन्दोलन आक्रामक स्थितिमा छ । त्यो देशभित्र रक्षात्मक छैन । झन्डै दुई तिहाईभन्दा बढी वामपन्थी जनमत छ । त्यो जनमतलाई एकीकृत र केन्द्रिकृत गर्न सक्दा नेपालबाट २१ औँ शताव्दीमा समाजवादको नयाँ मोडेल दिन सकिन्छ । त्यो परिस्थिति यतिबेलाको विश्वमा नेपालमा मात्रै वस्तुगत रूपले विद्यमान छ,’ प्रचण्डले भने ।

पार्टी निर्माणको काम घिसिपिटे तरिकाले हुन्छ भन्नेमा आफूले विश्वास नगर्ने प्रचण्डले बताए । आफ्ना गुरु र सहयोद्धाहरुलाई आफूले पछि पारेको आशयको अभिव्यक्ति दिँदै प्रचण्डले भने, ‘मेरा कतिपय गुरुहरु मध्ये अहिले पनि उहिलेकै पार्टीमा हुनुहुन्छ २१ सालकै पार्टीमा । उहाँहरू बौद्ध भिक्षु जस्तो घण्टी बजाइराख्नुभाछ । न समाजमा कुनै परिवर्तन छ, न जीवनको कुनै आवेग छ, न कुनै आक्रोश छ । उहाँ चलिराख्नु भएको छ, चलिराख्नु भएको छ ।’

मसालका महामन्त्री मोहन विक्रम सिंह र नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेतर्फ सङ्केत गर्दै प्रचण्डले भने, ‘कतिपय साथीहरू भक्तपुरमा बस्नुभाछ, भक्तपुरभन्दा बाहिर हेर्नुहुन्न । कतिपय साथीहरू प्युठानमा हुनुहुन्छ प्युठानभन्दा बाहिर जानुहुन्नँ । कतिपय साथी त्यस्तै त्यस्तै हुनुहुन्छ ।’

प्रचण्डले आफूहरू भने उनीहरुभन्दा फरक रहेको दाबी गरे । ‘हामी त्योभन्दा फरक छौँ । हामी फरक ढङ्गले उत्पीडित वर्ग, समुदायको मुक्तिको निम्ति अगाडि बढ्ने जमर्को गरिरहेका छौँ । नयाँ तरङ्ग र आवेग पैदा गर्दै समाजलाई रूपान्तरण गर्ने प्रक्रियामा छौँ,’ प्रचण्डले भने, ‘त्यो प्रक्रियामा आजको एकता पनि एउटा नयाँ कडी हो भन्ने मेरो विश्वास छ ।’

प्रचण्डले सबै क्रान्तिकारी शक्ति र कम्युनिस्ट पार्टीहरूलाई एकता तथा ध्रुवीकरणमा आउन अपिलसमेत गरे ।

स्रोत : अनलार्इन खबर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *