आजबाट रमदान सकियो, भोली देखि इद उल फितर सुरु

असार ९ । मुस्लिम समुदायले मनाउने एक महिने रमदान उल मोबारक शुक्रबार सकिएको छ । रमदान सकिएको भोलिपल्ट अर्थात् दसौं महिनाको पहिलो दिनदेखि मुस्लिमहरूको अर्को महत्त्वपूर्ण पर्व इद उल फितर शनिबार सुरु हुनेछ । यसै अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । अरबिक पात्रो अनुसार रमदान नवौं महिनाको अन्तिम दिन आकाशमा चन्द्रमा देखिएपछि महिना दिनको रोजा (व्रत) सकिन्छ।

अरबी पात्रो अनुसार दसौं महिना (सब्बाल) को पहिलो तारिखदेखि इद उल फितर सुरु हुन्छ। इदलाई मुस्लिमहरूले खुसीको पर्वका रूपमा मनाउँछन् । नेपाली जामे मस्जिदका सचिव मन्सुर सेनका अनुसार धनी वर्गले एक वर्षभित्र आफूले सुनचाँदी, नगद वा जिन्सी जति बचत गर्छन् त्यसको २.५ प्रतिशत गरिब, दीनदु:खी वा विपन्नलाई दान दिनुपर्छ । यसलाई जकात भनिन्छ । यो पर्वका दिन सबैले बिहान नियमित नमाज पढेपछि सफासुग्घर भएर चोखो लुगा लगाएर जामे मस्जिदमा भेला हुन्छन् । त्यसपछि तोकिएको समयमा इद उल फितरको विशेष नमाज सामूहिक रूपमा पढ्ने गर्छन् । नमाजपछि एक अर्कामा अंकमाल गरी शुभकामना साटासाट गर्ने चलन छ ।

इस्लामिक पात्रो चान्द्रमास बमोजिम चल्ने हुनाले हरेक वर्ष नेपाली पात्रो अनुसार रमदान महिना १२-१३ दिनअघि सर्दै आउँछ । ‘रमदान महिनाको मुख्य उद्देश्य निराहार व्रत बसी अति अनुशासित ढंगबाट जीवन बिताउन लगाउनु हो’, नेपाली जामे मस्जिद काठमाडौंका अध्यक्ष अमर खानले भने, ‘विपन्न वर्गले महसुस गर्ने भोक, प्यास सम्पन्न वर्गलाई समेत महसुस गराउनु पनि यो पर्वको उद्देश्य हो ।’

इस्लाम धर्मको नियमानुसार हरेक मुस्लिमले रोजा बस्नु अनिवार्य गरिएको हुन्छ । इस्लामका कल्मा (श्लोक), नमाज, रोजा, हज र जकात मध्येको एक आधारका रूपमा रोजालाई लिने गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =