राजविराजमा दिनदहाडै नौ लाख ५० हजार लुटिएपछि…

राजविराज, २४ असोज । हार्डवेयर पसल सञ्चालन गर्नका लागि बैङ्कबाट निकालिएको रु नौ लाख ५० हजार आज अपराह्न लुटिएको छ ।

राजविराज नगरपालिका–९ मलेठ, नहरचोक निवासी मोहमद इजलास मियाँले हार्डवेयर पसल सञ्चालन गर्नका लागि राष्ट्रिय वाणिज्य बैङ्क राजविराजबाट लिएको रकम सनराइज बैङ्कमा राख्नका लागि जाँदै गरेका अवस्थामा अपरिचित व्यक्तिले राजविराजको मुख्य बजारबाटै लुटेर भागेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

रकम रावा बैङ्कबाट लिई नजिकैको सनराइज बैङ्कमा राख्नका लागि छाप बनाउन सप्तकोशी माइक्रोबस स्टेसननिर एउटा पसलमा जाने क्रममा आएको अज्ञात व्यक्तिले ब्यागमा पैसा बोकेका मियाका छोराको घाँटीमा फोहर दलेर भागेको पीडितले जनाएका छन् ।

हलिमा खातुनका नाममा रहेको १९०२५ नम्बरको खाताबाट निकालिएको रकमबाट आउँदो तिहारमा मलेठस्थित नहरचोकमा मियाँले हार्डवेयर पसल सञ्चालन गर्न लागेका थिए । यसैबिच रकम लुटेको आशंकामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । रकम लुटेर फरार भएका व्यक्तिको खोजी तीव्र पारिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *