स्मार्ट सिटी निर्माण गर्न १७ कम्पनी सर्ट लिस्टमा छनौंट

कात्तिक १, काठमाडौँ । स्मार्ट सिटी निर्माणका लागि कम्पनी छनौंट अन्तिम चरणमा पुगेकाे उपत्यका विकास प्राधिकरणले जनाएकाे छ । सरकारले चार स्मार्ट सिटीको डीपीआर निर्माणका लागि ग्लोबल टेन्डर आव्हान गरेको थियो । उपत्यका विकास प्राधिकरणका शहरी योजनाकार भागवत खोखालीले सबैभन्दा ठुलो सहर इशानको लागि ६ वटा कम्पनी सर्ट लिस्टमा परेका छन् भने बाँकी रहेका तीन सहरका लागि ११ वटा कम्पनी सर्ट लिस्टमा परेकाे जानकारी दिए ।

यी कम्पनीहरूको प्राविधिक क्षमता, वित्तीय प्रस्ताव, काम गरेको अनुभव आदिका आधारमा सर्ट लिस्टमा परेका हुन् । अब आर्थिक र प्राविधिक दुवै कुरालार्इ मध्यनजर गरी कम्पनीहरू छनौट हुनेछन् । छनौटपछि कम्पनीहरूले डीपीआर निर्माण सुरु गर्ने उपत्यका विकास प्राधिकरणले जनाएको छ । छनौट हुने कम्पनीले १८ महिनामा इशान तथा बाँकी तीन सहरको १५ महिनामा डीपीआर तयार गर्नुपर्ने छ ।

डीपीआर निर्माण सम्पन्न भएपछि कस्तो खालका सहर बनाउन सकिन्छ भन्ने टुङगो लाग्ने भएकाले कम्पनी छानेर काम अघि बढाउन प्राधिकरणले काम गरिरहेको उपत्यका विकास प्राधिकरणका विकास आयुक्त डा. भार्इकाजी तिवारीले बताए । अहिले स्मार्ट सिटी निर्माणकै लागि १ लाख ३० हजार रोपनी क्षेत्रफलमा कित्ताकाट तथा भौतिक निर्माण गर्न रोक लगार्इएको छ । तर, भूकम्प पिडितलार्इ घर बनाउन, दाजुभार्इका बिचमा अंशबण्डा, मोहियानी जग्गा बाँडफाँड, पहिले नै मुद्दा परेको अवस्थामा भने कित्ताकाट गर्न पाइने गरी खुकुलो बनाइएको छ । तर, जग्गा कित्ताकाट गर्दा ८ आना दुवैतिर हुनुपर्ने प्राधिकरणकले जनाएको छ ।

पहिलो स्मार्ट सिटी : काठमाडौँ र्इशान (पूर्व-उत्तर)
यो उपत्यकामा निर्माण हुन लागेको पहिलो सहर हो । जसलार्इ काठमाडौँ इशान नाम दिर्इएको छ । यो क्षेत्रफलका आधारमा सबैभन्दा ठुलो सहर पनि हो । जुन १ लाख रोपनी क्षेत्रफलमा फैलने छ । पूर्वतर्फ भक्तपुरको नगरकोट जाने सडक, तेल कोट भन्ज्याङसम्म तथा पश्चिममा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट मैदानबाट मुलपानीको गोठाटार हुँदै मनोहरा खोलाको पुलबाट भक्तपुर जाने बाटोसम्म फैलिनेछ । त्यसै गरी उत्तर दिशामा साँखु बजार तथा दक्षिणमा भक्तपुरको बाटोसम्म पुग्नेछ ।

दोस्रो स्मार्ट सिटी : काठमाडौँ आग्नेय (पूर्व-दक्षिण)
यो सहर काठमाडौको पूर्व-दक्षिण दिशामा पर्छ भने १० हजार रोपनी क्षेत्रफलमा फैलने छ । पूर्वमा अरनिको राजमार्गको सुर्यविनायक चोकदेखि मन्दिरसम्म, सुर्यविनायक बनलार्इ बाहिर पार्दै सहर निर्माण हुनेछ । पश्चिममा खहरेखोला, बालकोट विरुवासडक, पानी ट्याङकी अमरनगर, ठिमी हुँदै अरनिको राजमार्ग सिमानालार्इ छुनेछ । यो सहर उत्तरमा अरनिको राजमार्गको सिमानासम्म पुग्नेछ । त्यस्तै दक्षिणमा भक्तपुर जिल्लाको सिलामगाल, रानीकोट जङ्गलछेउ, अनन्त लिङगेश्वर, फेदी, तर्खगाल, पात्लेश्वर, बिरुवा हुँदै खहरेसम्म पुग्नेछ।

तेस्रो स्मार्ट सिटी : काठमाडौँ नैऋत्य (दक्षिण-पश्चिम)
करिब १० हजार रोपनी क्षेत्रफलमा फैलने यो सहरको नाम काठमाडौँ नैऋत्य राखिएको छ । यो ललितपुरलार्इ समेटेर निर्माण हुन्छ । पूर्वमा छ्यासिकोटदेखि साविकको संबु गाविसको सिमाना हुँदै फर्सिडोल बागमती नदीको झोलुङगे पुलसम्म पुग्नेछ । त्यस्तै पश्चिममा बागमती नदीको सिमानासम्म तथा उत्तरमा सैबु गाविसको सिमाना छुनेछ । दक्षिणतर्फ भने बागमती नदीसम्म फैलने छ ।

चौथो नयाँ सहर : काठमाडौँ उत्तर
काठमाडौँ उत्तर नाम दिएको यो सहर पनि अन्य दुर्इ सहर जस्तै १० हजार रोपनी क्षेत्रफलमा नै फैलने छ । पूर्वमा सामाखुसी, टोखा, रोड हुँदै बाइपास पुग्नेछ । पश्चिममा काभ्रेस्थली बार्इपास जाने मूल सडक जोडिनेछ । उत्तरमा सपनातिर्थ हुँदै काभ्रेस्थलीतिर जानेछ । दक्षिणमा ग्रीनल्याण्ड चोकदेखि मनोरथ हुँदै महादेवखोला काभ्रेस्थलीको मूल सडकको पुलसम्म पुग्नेछ । यी शहरलार्इ सेवा सुविधाको विस्तार गरी स्मार्ट सिटीका रूपमा विस्तार गदै लैजाने उपत्यका विकास प्राधिकरणले जनाएको छ । त्यसै स्मार्ट सिटीको निर्माणपछि अव्यवस्थित बसोबासलाई व्यवस्थित बन्ने प्राधिकरणले जनाएको छ । सरकारको दिगो विकासको लक्ष्य अन्तर्गत सन् २०३० सम्म ५० वटा स्मार्ट सिटी निर्माण गर्ने योजना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − two =