अनन्तरामले तोडे विश्व किर्तिमान

  

असोज २२, काठमाडौँ । लगातार भाषण गरेर विश्व किर्तिमान कायम गर्न असोज १९ गतेदेखि लगातार भाषण गर्दै आएका नुवाकोटका अनन्तराम केसी सफल भएका छन् । गत बिहीबारदेखि राजधानी स्थित टेक्सस कलेजको हलमा भाषण गर्दै आएका केसीले लगातार ८० घण्टा ४ मिनेटको विश्वकिर्तिमान कायम गरेका छन् ।

८४ घण्टाको लक्षित टाइम बनाएर भाषण थालेका केसीले ८० घण्टा ४ मिनेटसम्म निरन्तर भाषण गरे । भारत गुजरातका आश्विन सुँडाईको ७५ घण्टा ३२ मिनेटको रेकर्ड तोडेर नयाँ विश्वकिर्तिमान कायम गरेका हुन् । केसीले भारतका सुँडाईको भन्दा ४ घण्टा ३२ मिनेट बढी भाषण गरेर नयाँ विश्वकिर्तिमान राखेका हुन् । यस अघि उनले ६३ घण्टासम्म लगातार भाषण गरिसकेका थिए । उनले नेपालका ७५ अाेटै जिल्ला पैदल यात्रा समेत गरेका थिए, भने, काठमाडाैं देखि भारतकाे कन्याकुमारीसम्मकाे पैदल यात्रासमेत सफलता पूवर्क सम्पन्न गरेका थिए ।

केसीले ८४ घण्टासम्म भाषण गर्ने लक्ष्य राखे पनि अन्तिम साढे तीन घण्टा स्वास्थ्य र स्वरले साथ नदिएकोले ८० घण्टामै स्थगित गरिएको आयोजक लायन्स क्लब अफ काठमाडौँ बिहानीका अध्यक्ष नारायण रिजालले बताए ।

उनको विश्वकिर्तिमानलाई प्रमाणिकरण गर्न बाँकी रहेको छ । यसका लागि लायन्स क्लबले आवश्यक सबै प्रमाणहरु पठाउने बताएको छ । यस अघि नै क्लबले गिनिज बुक अफ वर्ल्डको कार्यालयको सम्पूर्ण प्रक्रिया पुर्याएको थियो । चार दिनसम्म चलेकाे लङ्गेष्ट स्पीच म्याराथुन कार्यक्रममा केसीले जिवन दर्शन, याेग, अध्यात्म, साधना लगायत समसामयिक विषयमा प्रवचन दिएका थिए ।

लङ्गेष्ट स्पीच म्याराथुन कार्यक्रमलाई राइटपाथ करियर काउन्सेलिङ, मेगा बैङ्क, प्रभु बैङ्क, निष्ट फाउण्डेशन, टेक्सस कलेज लगायतले स्पोन्सर गरेका थिए ।

विश्व किर्तिमान राखिसकेपछि आयोजित पत्रकार सम्मेलनमा वक्ताहरुले अनन्तराम केसीको विश्व किर्तिमानले नेपाल र नेपालीको नाम उच्च बनाएको प्रतिक्रिया दिए । कार्यक्रममा बोल्दै योगी डा. विकासानन्दले अनन्तराम केसी एक योग साधक समेत रहेको तथा यस अघि पनि उनले विभिन्न आश्चर्यजनक काम गरेको सम्झँदै उनले देशको नाम विश्वमा राखेको बताए । उनले कुनै पनि कुरामा दृढ निश्चयकाथ काम गरे जुनसुकै कार्य गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गरेको जिकिर गरे । ‘नेपालीहरू अवसर पाए जस्तोसुकै काम गर्न सक्छन् भन्ने उदाहरण यो किर्तिमानले दिएको छ ।’ उनले भने ।

कार्यक्रममा लायन्स क्लब अफ काठमाडौँका विभिन्न् व्यक्तित्वले अनन्तराम केसीलाई बधाई तथा शुभकामना दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *