तिहारका लागि यी चिज अत्यावश्यक

असोज २७, काठमाडौँ । हिन्दुहरूको महान् सांस्कृतिक पर्व तिहारमा नभई नहुने अत्यावश्यक वस्तुहरू धेरै छन्, जसको अभावमा तिहार अधुरो रहन्छ । ती वस्तुहरू कतिपय नेपालमै उत्पादित हुन्छन् त कति भारतबाट आउँछन् । भारतको आयातमा धेरै निर्भर रहेको नेपाली बजारमा यसवर्ष समेत प्रायः सबै सामाग्रीहरूको भाउ ह्वात्तै बढेको छ ।
काग पूजादेखि कुकुर गाई, गोरु, लक्ष्मी र भाइपूजासम्मका संस्कारमा धेरै त्यस्ता चीजवस्तु छन्, जुन तिहार मान्नेहरुसँग हुनैपर्छ । तिहारमा चाहिने विभिन्न प्रकारका सामाग्रीहरू यस्तो छ ।
१. घिउ/तेल
मिठाईलगायतका विभिन्न मिष्ठान्न परिकार बनाउने प्रचलनका कारण तिहारमा अन्य समयभन्दा तेब्बर परिमाण तेलको माग हुने गरेको छ । त्यस्तै दियोमा बत्ती बाल्न पनि तेलको प्रयोग हुन्छ ।
२. फुल र माला
तिहारमा घर सजाउनदेखि पूजाआजा, म्हपूजा र भाइटिकामा सयपत्री, मखमली र गोदावरी फुलको प्रयोग अत्यधिक हुन्छ । यसवर्षको तिहार असोजमै भएकाले सबैजसो क्षेत्रमा यी फुलहरू फुलिसकेका छैनन् । यस वर्षको तिहारमा पनि विगतमा जस्तै भारतबाट समेत फुलको माला आयात भएको छ । विदेशबाट आएका प्लाष्टिकका नक्कली फुलका माला पनि बजारमा बेच्न राखिएका छन् ।
३. चामलको पीठो
तिहारमा विभिन्न प्रकारका मिठाई र सेलरोटी लगायतका परिकार बनाउने प्रचलन छ । जसका लागि चामलको पिठो अनिवार्य नै छ । चामलको पिठोको मूल्य अहिले बढ्न थालिएको छ । सुजी, मैदा, बेसनलगायतको मूल्य समेत बढेको छ ।

४. भाइ-मसला
तिहारमा दिदीबहिनीले दाजुभार्इलाई टीका लगाएर नरिवल, सुकुमेल, ल्वाङ, सुपाडी, छोकडा लगायतका मिश्रति मसलाजन्य सामाग्रीको प्याकेट दिने प्रचलन छ । नेवारी समुदायमा म्ह पूजा गर्दा पनि भाइमसला दिने संस्कार छ । विभिन्न मसलाहरु राखेर तयार गरिने भार्इ मसलाका सामग्रीको मूल्य पनि अहिले बढेको छ । तिहारको भाइ मसलामा प्रयोग हुने नरिवल, छोकडा, काजु, किसमिस लगायत सामग्रीको मूल्य अघिल्लो वर्षको भन्दा निकै माथि गएको हो
५. फलफुल
तिहारमा स्याउ, सुन्तला, भोगटे, बिमिरो, केरा लगायतका फलफूलजन्य सामग्रीको महत्त्व पनि अपरिहार्य छ । पूजाआजाको कार्यमा होस्, वा उपहारका लागि, फलफुल तिहारमा नभई नहुने सामाग्री हो । यसवर्षको तिहारमा फलफुलको मूल्य पनि सामान्य स्थितिमा छैन ।
६. अबिर केसरी : भारतको भर
तिहारमा टीका लगाउन सात प्रकारका रंगहरुको प्रयोग हुन्छ । विभिन्न पूजाआजामा अबिर र केसरी झनै अनिवार्य मानिन्छ । अबिर केसरी तथा रंगहरुको मूल्य पनि यस वर्ष महंगिएको छ । यसमा पनि नेपाली बजार भारतसँगै निर्भर रहेकाले १० रुपैयाँ प्याकेटमा पाइने रङ्ग अहिले २० रुपैयाँ घटि पाइँदैन । यसमा पनि झन्डै दोब्बर मूल्य बढेको छ ।
७. विद्युतीय बत्ती : खर्चको नास
तिहार उज्यालोको पर्व भएकाले घरलाई बत्ती बालेर झिलीमली गराउने प्रचलन छ । शहरी क्षेत्रमा विद्युतीय बत्तीहरु प्रयोग गरी घरलाई सजाउने प्रचलन व्यापक छ । तर, यसवर्ष यस्ता बत्तीको मूल्य पनि बढेको छ । यस्ता बत्तिहरुको मूल्य बढेको छ । तर, यस्ता चिजमा पैसा खर्च गर्नु फजूल खर्चजस्तै हुने स्थिति छ ।
८. ओखर : नफुटाई नहुने
तिहारमा ओखर पनि अनिवार्य मानिन्छ । यसको प्रयोग विशेष गरी भाइटिकाका दिन हुने गर्दछ । भाइटिका लगाउँदा दिदीबहिनीले दाजुभाइको दुख कष्ट फोडेर फालेको प्रतीकस्वरुप ओखर फुटाउने प्रचलन छ । साथै मसलाका रूपमा पनि यसको प्रयोग हुन्छ । ओखरको मूल्य पनि यस वर्ष बढेको छ ।
९. मैनबत्ती
मैनबत्ती पनि तिहारका लागि अत्यावश्यक सामाग्री हो । तिहारमा घर, आँगन, दैलो चोक पिँडी, छिँडी सबै ठाउँमा उज्यालो राख्नुपर्ने मान्यताअनुरुप यसको प्रयोग बढी हुन्छ । मैनमा भने नेपाल भारतसँग निर्भर हुँदा मैनबत्तीको पनि मूल्य बढेको छ । मैनबत्तीको उत्पादन नेपालमै हुने गरे पनि कच्चा पदार्थ नपाएकाले उत्पादित मैनबत्तीको मूल्य गत वर्षभन्दा बढेको हो ।
१०. पाला/दियो : मूल्य सामान्य
मैनबत्ति जस्तै तिहारमा पालाको प्रयोग उच्च हुन्छ । घर आँगन उज्यालो राख्न पालामा तेल राखेर कपासको बत्ती बाल्ने गरिन्छ । पालको उत्पादन धेरैजसो भक्तपुरमा हुने गरेको छ । स्थानीय उत्पादन भएकाले पालाको मूल्य भने धेरै बढेको छैन । ढुवानी खर्च बढेका कारण पालामा यसअघि भन्दा सामान्य मूल्य बढेको व्यवसायीहरुले बताएका छन् । यसमा माटाका दियोहरु प्रयोग हुने भएकाले ती सामाग्री प्रायः महँगो भएका छैनन् ।
११. बत्ती : कपास र धागो
दियो र पालामा बत्ती बाल्न कपासको बत्तीको प्रयोग हुने गर्छ । यसको मूल्य भने खासै बढेको छैन । समान्यतया १ हजार बत्ती १ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ । कतै-कतै मूल्य फरक भेटिन्छ । तर, बत्ती कातेर बेच्नेहरु अहिले धागो र कपास नपाएको गुनासो गर्छन् ।
१२. धूप
तिहारमा अन्य समयमा भन्दा धेरै पूजाआजा गरिन्छ । यो समयमा धूप, अगरबत्ती लगायतको प्रयोग पनि बढी नै हुन्छ । तर, भारतबाट पर्याप्त धूप आएकाले यसको मूल्य खासै बढेको छैन ।
१३. रातोमाटो : बजारमा बिक्री
तिहारमा सांस्कृतिक मान्यताअनुरुप लक्ष्मी पूजा गर्दा आँगन वा तुलसाको मोठबाट घरको मूल ढोका, कोठा हुँदै भण्डारसम्म रातो माटोले डोरो बनाएर पोत्ने चलन छ । त्यस्तै, भाइटिका गर्ने र गोर्बर्द्धन पूजा गर्ने पवित्र स्थानमा पनि रातोमाटोको प्रयोग हुन्छ । त्यसैले यो समयमा बजारमा रातोमाटोको बिक्री हुने गरेको छ । चोकचोकमा माटो भरिएका बोराहरु बिक्रीमा राखिएका छन् । यसरी माटोको बिक्री तिहारबाहेक अरू बेलामा खासै हुँदैन ।








