एमाले कास्की क्षेत्र नं. १ र २ मा प्रत्यक्ष प्रत्यक्ष तर्फ सर्वसम्मत,  क्षेत्र नं. ३ मा विवाद


असोज १९, पोखरा । नेकपा एमाले कास्कीले आगामी मङ्सिरमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि उम्मेद्वारहरु सिफारिस गरेको छ । पार्टीको तर्फबाट कास्कीका तीन निर्वाचन क्षेत्र मध्ये दुईवटा निर्वाचन क्षेत्रमा सर्वसम्वत उम्मेदवार सिफारिस गरेको छ भने एउटा निर्वाचन क्षेत्रमा विवाद देखिएको छ ।

क्षेत्र नम्बर १ र २ बाट क्रमशः पूर्व स्वास्थ्य मन्त्री तथा एमाले सल्लाहकार परिषदका केन्द्रीय उपाध्यक्ष खगराज अधिकारी र संसद् विकास समितिका सभापति समेत रहेका रविन्द्र अधिकारीलाई सर्वसम्मत उम्मेद्वारकोरुपमा सिफारिस भएका छन् । क्षेत्र नम्बर ३ मा भने वर्तमान सांसद सीता गिरीले आफूलाई षड्यन्त्र गरी भोटिङ्गको नाउँमा सिफारिस हुनबाट रोकेको आरोप लगाएकी छन् ।

एमाले क्षेत्रीय कमिटीको भेलामा २ महिलासहित ४ जनाले क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्न चाहेको बताएका थिए । एमाले केन्द्रीय समितिले सकभर सर्वसम्मत १ जनाको नाम वा सर्वसम्मत नभए ३ जनाको मात्र नाम सिफारिस गर्न र त्यसमा १ महिला अनिवार्य सिफारिस गर्न गरेको निर्देशन अनुसार सहमतिको प्रयास भएको थियो । तर, सहमतिको प्रयास विफल भएपछि क्षेत्रीय कमिटीले पुरुषबाट २ जना सर्वसम्मत र महिलाबाट १ जनाको नाम भोटिङबाट उम्मेदवार सिफारिस गर्ने निर्णय गरेपछि विवाद सुरु भएको थियो ।
भेलामा सांसद तथा एमाले केन्द्रीय सदस्य सीता गिरी ओलीले मतदान गर्ने भए चार जनाबीच नै गर्नुपर्ने नत्र पार्टीगत तालमेल र एकीकरणको प्रक्रिया चलिरहेकाले स्थगित गर्नुपर्ने माग गरिन् ।

तर, ओलीको माग सुनुवाइ नगरी २ महिला बीचमामात्र प्रतिस्पर्धा गराउनका लागि मतदान प्रक्रिया सुरु गरेपछि उनी छनौट प्रक्रियाप्रति विरोध जनाउँदै बाहिरिएकी थिइन् । मतदान प्रक्रियाबाट क्षेत्र नम्बर ३ बाट जगत बिक, जगन्नाथ बास्तोला र उमा कोइराला सिफारिस भएका छन् ।

कास्कीको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको लागि पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारी सर्वसम्म्त सिफारिस भएका छन् भने, क्षेत्र नम्बर १ (क) बाट प्रदेश सभाको लागि दिलीप न्यौपाने, टिकाराम पंगेनी र सरिता कुमाल सिफारिस भएका छन् ।

कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट रबिन्द्र अधिकारी सर्बसम्मत सिफारिस भएका छन् । सो क्षेत्र बाट प्रदेश सभाको लागि २ (क) मा कृष्ण थापा, धनराज आचार्य, हिरा गिरी सिफारिस भएका छन् भने, प्रदेश सभा नेकपा एमाले कास्की निर्वाचन क्षेत्र न २ (ख) बाट प्रभा कोइराला, सन्जिब बहादुर कोइराला, दान बहादुर बानिया परेका छन् ।

प्रदेश सभाकोलागि कास्की क्षेत्र नम्बर ३ (क) बाट नारायण बास्तोला, दल बहादुर गुरुङ र सरस्वती अधिकारी सिफारिस भएका छन् । प्रदेश सभा कास्की क्षेत्र नम्बर ३ (ख) बाट राजिब पाहारी, दामोदर बैरागी र देवका पाहारी रहेका छन् ।

कास्की एमालेले छिट्टै समानुपातिक सहित सम्पूर्ण उम्मेदवारहरुको सिफारिस गरी सक्ने बताएको छ। सिफारिस भएका उम्मेदवारहरुको अन्तिम निर्णय एमाले स्थायी कमिटीले गर्ने एमाले कास्कीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 10 =