चार्ल्स  सोभराजले त्यसै भनेका रैनछन् ‘नेपालको एयरपोर्टबाट हात्ती छिराउन सक्छु’

असोज १९, विराटनगर । पूर्वको अति व्यस्त विमानस्थल विराटनगर विमानस्थलको सुरक्षा जाँच गर्ने उपकरण विग्रिएको महिनौं वितिसक्दा पनि मर्मत हुन सकेको छैन । गत साउनमा विमानस्थल परिसरमा पसेको बाढीले विगारेको यात्रुहरुको झोलाहरु चेक जाँच गर्ने एक्स–रे उपकरण बनाउन नसक्दा विमानस्थल असुरक्षित बनेको हो । विमानस्थलमा रहेका दुई वटै एक्स–रे उपकरणमा पानी पसेपछि विग्रएका छन् ।

एक्स–रे उपकरण विग्रिएपछि विमानस्थलमा खटिएका प्रहरीहरुलाई यात्रुहरुको झोला, ब्याग खोतल्न सास्ती परेको छ । प्रहरीहरुले यात्रुका शरीर जाँचसँगै झोला, ब्यागहरुमा हात हालेरै खोतल्ने गरेका छन् । यसरी यात्रुका ब्याग र झोलामा हात हालेरै खोतल्दा कहिलेकाँही प्रहरीलाई समस्या पर्ने गरेको विमानस्थलमा कार्यरत एक प्रहरीले बताए । ‘कहिले काहीँ यात्रुले नरमाइलो मान्छन् । एक्स–रे मेसिन के भयो ? भन्छन् ।’ एक प्रहरी अधिकारीले भने । उनले प्रत्येक यात्रुका झोला र ब्याग खोतल्दा यात्रुहरुलाई पनि हैरानी हुने बताए । ‘मेसिन हुँदा यात्रुलाई मात्र चेक गर्दा हुन्थ्यो, समय कम लाग्थ्यो अहिले एउटा यात्रुको झोला र शरीर चेक जाँच गर्दा ५देखि १० मिनेट सम्म लाग्छ ।’ उनले भने । दसैँ तिहार जस्तो यात्रुहरुको चाप बढेको समयमा झन् सुरक्षा व्यवस्थामा चुनौती थपिएको छ ।

प्रहरीले आफ्ना झोला र ह्याण्ड ब्यागहरु हातै हालेर खोतल्दा यात्रुलाई पनि असहज महसुस हुन्छ । इटहरी–४ की नम्रता अधिकारीले लेडिज ब्यागमा हातै हालेर खोतल्दा अलिक अफ्टेरो हुने बताउँछिन् । ‘हुन त हाम्रै सुरक्षाका लागि हो तर, ब्याग र झोलामा हातै हालेर खोतल्दा अलिक अफ्टेरो लाग्छ । भित्र के–के सामान छ सबै नियाल्छन् । एक्स–रे मेसिन नै भरपर्दो हैन र ।’ उनले भनिन् ।

एक्स–रे उपकरण विग्रिएपछि विमानस्थल पनि सुरक्षित छैन । आपराधिक क्रियाकलापमा संलग्नले झोला तथा ब्यागमा लुकाएर जस्तो सुकै वस्तुपनि लग्न सक्छन् । विराटनगर विमानस्थलमा झोलाहरु चेकजाँच भइसकेपछि काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानमा पुनः झोला चेक जाँच गर्ने सिस्टम छैन । ‘विभिन्न प्रकारका लागूपदार्थ, सुन चाँदी, पटाका, नक्कली रुपैंया जस्ता वस्तुहरू लुकाएर ल्याएको अवस्थामा प्रहरीले चेक जाँच गर्ने माध्यम नै छैन । विराटनगर नेपाल भारतको सीमा क्षेत्रमा समेत पर्नेभएकोले विभिन्न अपराधीले पनि यो विमानस्थल प्रयोग गर्न सक्छन् ।’ एक सुरक्षा अधिकारीले भने ।

विराटनगर विमानस्थल कार्यालय प्रमुख कौशल भण्डारीले एक्स–रे मेसिन विग्रिएको विषयमा नागरिक उड्ययन प्राधिकरण (क्यान) लाई जानकारी गराएपनि कुनै रेस्पोन्स नआएको बताए । विमानस्थलको आन्तरिक सुरक्षाको जिम्मा लिएको नेपाल प्रहरीले समेत एक्स–रे मेसिन विग्रँदा दसैँ जस्तो चाडबाडमा सुरक्षा प्रणालीमा चुनौती थपिएको बताउँदै यात्रुहरुका लगेजहरु हातले नै चेक जाँच गर्ने निर्णय गरेको थियो । दसैँमा दैनिक २० ओटाभन्दा बढी उडान हुँदा प्रहरीलाई यात्रुहरुको लगेज चेक जाँचमै कठिन भएको थियो । प्रहरीले सकेसम्म सबै यात्रुका लगेज चेक जाँच गरेर पठाएपनि हातबाट खानतलासी गर्दा गोप्य रूपमा लुकाएर ल्याएको वस्तुहरू फेला पार्न सक्ने क्षमता थिएन ।

बाढीका कारण उपकरण विग्रिएपछि तत्कालै प्राधिकरणलाई जानकारी गराएपनि उपकरण मर्मतमा कुनै निर्णय भएको छैन । त्यत्तिबेला क्यानका प्रतिनिधि सिनियर मेनेजर सुरेशमान सीँ, एटिसी इन्चार्ज सन्तोष ढकाललाई समेत राखेर कुरा गर्दा उनीहरूले एक्स–रे मेसिन बनाउन क्यानको केन्द्रीय कार्यालयले नै पहल गर्नुपर्ने भन्दै पन्छिएका थिए । ‘मेसिन बनाउन लामो प्रोसेस हुन्छ तत्काल बन्न सक्दैन भने ।’ विमानस्थल प्रमुख भण्डारीले भने । उनले मेसिन बनाउन भन्दै केही मान्छेहरू आएपनि उनीहरूले कुनै कामै नगरी गएको बताए ।

नागरिक उड्ययन प्राधिकरणका अनुसार देशभर सञ्चालनमा आएका २९ विमानस्थल मध्ये अधिकांश विमनस्थलमा एक्स–रे उपकरण छैन । प्राधिकरणले गत साताबाट मात्रै भद्रपुर विमानस्थलमा एक्स–रे उपकरण सञ्चालनमा ल्याएको छ । त्यस अघिसम्म भद्रपुर विमानस्थलमा पनि प्रहरीले हात हालेरै झोलाहरु खानतलासी गर्ने गरेका थिए ।

नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता विरेन्द्र कुमार श्रेष्ठले एक्स–रे मर्मतका लागि प्राधिकरणसँग बजेट नहुँदा मर्मत गर्न नसकिएको बताए । उनले गएको साउनमा प्राधिकरणको सञ्चालक समितिमा बजेट पेस गरे पनि बोर्डले कुनै निर्णय नगर्दा ढिलाइ भएको बताए । ‘हाम्रो प्राविधिक टोलीले २ वटै मेसिन निरिक्षण गर्दा ६० प्रतिशत सामान ड्यामेज भएको पाएको छ । पुरै मेसिन मर्मत गर्न करिब ३० देखि ३५ लाख रुपैंया लाग्ने भएकोले समस्या भएको छ ।’ श्रेष्ठले भने । उनले एक्स–रे मेसिनको उपकरण सिंगापुरबाट ल्याउनु पर्ने भएकोले पनि समस्या आएको जिकिर गरे । यो उपकरण SMITH कम्पनीको हो । प्राधिकरणले टेण्डर मार्फत महाविर श्री इन्टरनेशनलबाट उक्त एक्स–रे मेसिन तीन महिना अघि भित्राएको हो ।

कुख्यात अन्तर्राष्ट्रिय लेडी किलर अपराधी चार्ल्स सोभराजले नेपालको अन्तर्राष्ट्रिय एयरपोर्टबाट दिउसै हात्ती छिराउन सक्छु त्यसै भनेका हैनन् । नेपालका विमानस्थलहरु यति असुरक्षित छन् की सामान्य अपराधीले समेत सजिलै जस्तो सुकै गैरकानुनी सामान पास गराउन सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *