‘स्क्रब टाइफस’का संक्रमित बढे, शंका लाग्नासाथ अस्पताल जान स्वास्थ्यकर्मीको सुझाव

धनगढी, साउन १९ । मुसामा लाग्ने एकप्रकारको ‘किर्ना’ नामको कीराको टोकाइबाट सर्ने ‘स्क्रब टाइफस’को संक्रमणबाट दुई सातायता कैलालीमा केही व्यक्ति पीडित भएका छन् ।
सेती अञ्चल अस्पताल धनगढीमा उपचारका लागि आएका ४० वर्षमुनिका ६ जनामा ‘स्क्रब टाइफस’को संक्रमण देखापरेको अस्पतालले जनाएको छ । गम्भीर अवस्थामा भर्ना भएका सवै बिरामीलाई भेन्टिेलटरमा राखेर उपचार गरिएकामा तीमध्ये दुई जना उपचारपछि घर फर्किएको र अन्यको उपचार भइरहेको छ ।
रोगका कारण गतवर्ष कैलालीमा १५२ जना संक्रमित भएकामा चारजनाको उपचारका क्रममा मृत्यु भएको थियो । किर्नामा सो रोगको किटाणु हुने र उक्त किर्नाले मानिसलाई टोकेमा ‘स्क्रब टाइफस’को संक्रमण हुने चिकित्सक बताउँछन् ।
किर्नाले टोकेको ठाउँमा घाउ हुनु, शरीरमा बिमिरा देखिनु, टाउको दुख्नु, अत्यधिक ज्वरो आउनु र शरीरका विभिन्न भाग दुख्नु रोगका लक्षण हुन् । समयमै स्वस्थ्य परीक्षण गरी उपचार गरेमा रोग निको हुने भएकाले रोगको शंका लाग्नासाथ अस्पताल जान स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।
‘स्क्रब टाइफस’को समयमै उपयुक्त उपचार हुन नसकेमा त्यसले सुन्ने क्षमता गुम्ने, निम्न रक्तचाप, मिर्गौलामा समस्या देखिने, निमोनिया, छारेरोग जस्ता समस्या पनि देखिन सक्ने बताइएको छ । समयमै उपचार नगरेमा यसले मस्तिष्क, कलेजो र फोक्सोमा संक्रमण गरी मृत्युसमेत हुनसक्ने सेती अञ्चल अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा।शेरवहादुर कमरले बताए ।
मनसुनका समयमा यो रोगको संक्रमण बढी देखिने गर्छ । हाल सेती अञ्चल अस्पतालमा दिनमा दुई जनासम्म सो रोगका बिरामी आउने गरेको बताइएको छ ।








