अख्तियारले समात्यो ‘ठुलो माछा’


जेठ २०, काठमाडौँ । लोकसेवा आयोगको तयारीका लागि पुस्तक लेखेर विद्यार्थी माझ आदर्श बनेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मा आफैँ भ्रष्टाचारमा लिप्त भएर पक्राउ परेका छन् । शर्मालाई राजस्व हिनामिना गरेको आरोपमा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएपछि उनको कालो कर्तुत सार्वजनिक हुने क्रम बढ्दो छ । कर फर्छ्यौट आयोगबाट २० अर्ब रुपैयाँ उन्मुक्ति, एनसेल बिक्री करमा छुटको लबिङ, सुगम ग्याँस काण्डका मतियार लगायतका विवादित मुद्दामा मुछिएका शर्मालाई नियन्त्रणमा लिएर अहिले अख्तियारले प्रक्राउ गरेपछि काला व्यापारी र सरकारी कर्मचारीहरूको निन्द्रा गायब भएको छ । उनले आम्दानीको स्रोत देखाउने क्रममा २३ करोड रुपैयाँ किताब बेचेर कमाएको जनाएका छन् ।
हिजो शुक्रवार लाजिम्पाटस्थित आन्तरिक राजश्व विभाग कार्यालय परिसरबाटै अख्तियारको टोलीले शर्मालाई पक्राउ गरेपछि ठुला व्यापारी र सरकार कर्मचारीलाई प्रभावमा पारेर अरबौं रकम लूट्नेहरुको सातो गएको हो । अख्तियारले एनसेलको कर प्रकरणमा संलग्न भएको, अकुत सम्पत्ति कमाएको र कर फरछौंट आयोगमा व्यापारीलाई अर्बौै रकम छुट दिएको आरोप लगाएको छ । केहिदिनअघि शर्मा लगायतका विभागका अधिकारीलाई अख्तियारले कार्यालयमा नै बोलाएर सोधपुछ र फारम भर्न लगाएको थियो ।
शर्मालाई ‘चलाख’ र ‘माथिदेखि तलसम्म काम मिलाउनसक्ने’ अधिकृतका रूपमा चिनिन्छ । निजामती कर्मचारीको हैसियतभन्दा अकुत सम्पत्ति कमाएका शर्माले आफ्नो सम्पत्तिको स्रोत ‘पुस्तक बिक्री’लाई देखाएका छन् । उनले लोकसेवा आयोगका परीक्षार्थीहरूका लागि गाइड लेखेर झन्डै २५ करोड रुपैयाँ कमाएको दाबी गरेका छन् । ‘पुस्तक बिक्रीबाटै यत्रो सम्पत्ति कमाउन सकिने अवस्था देखिन्न ।’ अख्तियार स्रोत भन्दछ ।
यस्ता छन् उनलाई लागेका आरोप
कर फर्छ्यौट आयोगबाट व्यापारीलाई राजस्व छुट दिएर राज्यकोषमा २० अर्ब रुपैयाँ घात गरेको
३१ अर्ब रुपैयाँ बराबर विवादित मुद्दाका फाइलमा छानबिन नै नगरी २० अर्ब रुपैयाँ छुट दिएको ।
कम्पनी एनसेलको विवादित पुँजीगत लाभकर नतिर्नमा सहयोग गरेको ।
ठुला व्यापारीहरूबाट वार्षिक कर विवरणको ०.२ प्रतिशत हिस्सा बुभ्ने गरेको ।
सम्पत्ति शुद्धीकरण विभागमा महानिर्देशक हुँदा व्यवसायीलाई धम्क्याएर पैसा लिएको ।
नक्कली भ्याट बिल प्रकरणको अनुसन्धान सामसुम पारेर व्यापारीहरूलाई जोगाएको ।
नक्कली भ्याट बिल प्रकरणमा ७ अर्ब रुपैयाँ बराबर राजस्व नक्कली भ्याट बिलबाट अपचलनमा संलग्न भएको ।
एलपी ग्याँस सुगम ग्यास काण्डमा शिव घिमिरेलाई जोगाएको ।
ललितपुरका ढुंगाखानी व्यवसायीसँग मिलेर प्राकृतिक स्रोत दोहन गरेको ।








