चिकित्सकलाई आन्दोलन फिर्ता लिन आग्रह


असोज १३, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामा भाग लिएर प्रधानमन्त्री स्वदेश फर्किएका हुन् ।

स्वदेश फर्किएलगत्तै त्रिभुवन विमानस्थलमा भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले ओमानको औपचारिक भ्रमण द्धिपक्षिय परामर्श भएको जानकारी दिए । ओमानमा कार्यरत नेपालीहरूको हकहितको रक्षाको लागि द्विपक्षीय सम्झौताबारे पनि कुराकानी भएको प्रधानमन्त्रीले जानकारी दिए ।

राष्ट्रसंघको महासभामा सम्बोधनका क्रममा आफूले स्थानीय निकायका निर्वाचनबारे जानकारी गराएको प्रधानमन्त्रीले बताए । साथै पांचखालमा भएको वीरेन्द्र सैनिक शान्ति कार्य तालिम केन्द्र क्षेत्रीय स्तरको बनाउन आफूले राष्ट्रसंघका महासचिवलाई गरेको आग्रहमा महासचिव पनि सकारात्मक रहेको प्रधानमन्त्रीले जानकारी दिए । त्यसक्रममा प्रधानमन्त्री देउवाले चिकित्सकहरुको मागबारे आफू सचेत रहेकाले आगामी दिनमा समाधान गर्ने स्पष्ट पार्दै आन्दोलनमा नउत्रन आग्रह गरे । मन्त्रिपरिषद्को निर्णय चिकित्सकको हकहित विरुद्ध नभएको प्रधानमन्त्री देउवाको भनाई छ । देउवाले चिकित्सकहरुको मागबारे आफू सचेत रहेकाले आगामी दिनमा समाधान गर्ने पनि उल्लेख गरे ।

मन्त्रिपरिषद्को असोज २ गतेको बैठकले चिकित्सको लापर्बाहीले विरामीको मृत्यु भएमा सम्बन्धित चिकित्सकलाई नै क्षतिपूर्ति भराउने निर्णय गरेको थियो । सरकारको यो निर्णयपछि चिकित्सकहरुले एक साता भन्दा बढी समयदेखि देशभरका ओपीडी सेवा ठप्प पारी आन्दोलन गर्दै आएका छन् ।

प्रधानमन्त्रीलाई त्रिभुवन विमानस्थलमा उपप्रधान तथा स्थानीय विकाश मन्त्री विजय कुमार गच्छादार, उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र नारायण देव लगायतले स्वागत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *