निर्वाचन रोक्न सर्वोच्चमा मुद्दैमुद्दा: यस्ता छन् तीन ‘रिट’

काठमाडौं, कात्तिक १४ । निर्वाचन रोकिनुपर्ने मागसहित दर्ता भएका पुराना मुद्दा थाती रहेकै अवस्थामा समानुपातिक निर्वाचनका लागि एउटै मतपत्र छाप्ने कार्य गैरकानुनी रहेको प्रश्न उठाउँदै बदर गर्न मागसहित  सर्वोच्च अदालतमा फेरि अर्को विवादले प्रवेश पाएको  छ ।

सीताराम अग्रवालको रिट
समानुपातिकतर्फ छापिएका सबै मतपत्र रद्द गरी भिन्नाभिन्नै छपाइ हुनुपर्ने माग गर्दै अधिवक्ता सीताराम अग्रवाल रिट लिएर सर्वोच्च पुगेका हुन्। अग्रवालले समानुपातिकतर्फ भाग लिन आयोगमा दर्ता भएका दलको संख्याभन्दा बढी निर्वाचन चिह्न छापिएको प्रश्न उठाउँदै सोमबारै अर्को रिटसमेत दर्ता गराएका छन्।

आरजु थापाको रिट
यसअघि पनि केन्द्र र प्रदेशको निर्वाचन रोकिनुपर्ने मागसहित पुरानो शक्ति पार्टीकी महामन्त्री आरजु थापाले अर्को रिट दायर गरेकी थिइन् । उक्त पार्टीलाई आयोगले दल दर्ता गर्न र निर्वाचन चिह्न दिन नमानेपछि अन्तरिम आदेशमार्फत निर्वाचन प्रक्रिया नै रोक्न रिटमा माग थियो । उक्त विवादमा निर्वाचन रोक्न अन्तरिम आदेश नहुने निर्णय भए पनि रिटको अन्तिम फैसला हुन बाँकी छ।

भरतकुमार मैनालीको रिट
यी मुद्दा थाती रहेकै अवस्थामा सोमबार नै मंसिर १० र २१ गतेको निर्वाचनमा खटिने चार लाख ९२ हजार कर्मचारी र सुरक्षाकर्मीलाई समानुपातिक प्रणालीमा मतदान गर्न दिनुपर्ने र मतदानको सुनिश्चितता नभएसम्मका लागि निर्वाचन रोक्नुपर्ने माग राखेर महान्यायाधिवक्ता कार्यालयका कर्मचारी भरतकुमार मैनालीले अर्को रिट सर्वोच्चमा दर्ता गरेका छन्।

सर्वोच्चबाट प्रत्यक्ष र समानुपातिकमा फरकफरक मतपत्र छाप्न ध्यानाकर्षण गर्ने गरी भएको आदेशमा टेकेर कर्मचारीलाई मताधिकार प्रयोगको मागसहित रिट दायर भएको हो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 2 =