कसले जित्ला प्रधानमन्त्री कपको उपाधी ?

प्रथम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०७४ अन्तर्गत बिहिबार हुने फाइनल खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब आमने-सामने हुँदैछन्।

किर्तिपुरस्थित टि.यु. अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे हुने खेलमा बिनोद भण्डारीको कप्तानीमा रहेको त्रिभुवन आर्मी क्लबले मन्जित श्रेष्ठको कप्तानीमा रहेको नेपाल पुलिस क्लबको सामना गर्नेछ। प्रतियोगिताको एकमात्र अपराजित टोली रहेको त्रिभुवन आर्मी क्लब समूह ‘बी’को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको थियो। मंगलबार भएको सेमीफाइनलमा पश्चिमाञ्चलविरुद्ध ४ विकेटको रोमान्चक जित हात पार्दै आर्मीले फाइनल यात्रा तय गरेको थियो।

समूह ‘बी’कै उपविजेता रहेको पुलिसले लिग चरणको अन्तिम खेलमा आर्मीविरुद्ध ७ विकेटको हार व्येहोरेको थियो। सेमिफाइनलमा समूह ‘ए’को विजेता सशस्त्र प्रहरी बल (एपिएफ)लाइ १६ रनले पराजित गर्दै पुलिसले सेमिफाइनलमा स्थान पक्का गरेको थियो।

नगद २० लाख रुपैयाँ विजयी पुरस्कार रहेको प्रतियोगिताको उपविजेता टोलीले १० लाख रुपैयाँ पाउनेछ। यसैगरी सर्वोत्कृष्ट खेलाडीले नगद रु. १ लाख पाउनेछन् भने उत्कृष्ट बलर र ब्याट्सम्यानले समान ५०/५० हजार रुपैयाँ जित्नेछन्।

वर्षाका कारण खेल हुन नसकेको अवस्थामा भने दुवै टोलीले उपाधि बाँड्नेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 13 =