एक हजार ८६१ बालबालिका कुपोषित

असाेज ८, नुवाकोट । नुवाकोटका एक हजार ८०० भन्दा बढी बालबालिका कुपोषणबाट ग्रस्त भएको पाइएको छ । ख्याउटेपन भएर बच्चाको तौल न्यून हुँदै मृत्युवरण समेत गर्ने जोखिम अवस्थाको शीघ्र कुपोषण भएका बालबालिकाको सङ्ख्या ३०५ र मध्यम कुपोषण भएका बालबालिका एक हजार ५५६ रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

विभिन्न सामाजिक संस्थासँगको सहकार्यमा स्वास्थ्य कार्यालयले तयार गरेको स्थलगत अध्ययनका आधारमा पर्याप्त आहाराको कमी र विभिन्न रोगको संक्रमणका कारण शीघ्र कुपोषण भएका बालबालिकाको सङ्ख्या एक हजार ८६१ रहेको पोषण विकास अधिकृत जनार्दन सिलवालले जानकारी दिनुभयो ।

“भूकम्पपछिको २९ महिनामा ३०५ जना शीघ्र कुपोषित भएका बालबालिका पाइएकाले उनीहरूलाई स्वास्थ्य चौकीमा स्थापना गरेको बहिरंग सेवा केन्द्रमा उपचार गर्दै आएका छौँ ।” पोषण विकास अधिकृत सिलवालले भन्नुभयो, “अत्यन्त जोखिम अवस्थामा पुगिसकेकालाई जिल्ला अस्पतालमा चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार गराउँदै आएका छौँ ।”

जिल्लामा कुपोषणग्रस्त बालबालिकाको सङ्ख्या धेरै भेटिएपछि स्वास्थ्य कार्यालयले प्रत्येक स्थानीय तहमा एक÷एक केन्द्र स्थापना गरी बिरामीलाई निःशुल्करुपमा उपचार पु¥याउन सुरु गरेको छ ।

जिल्लाको सबै बस्तीबाट सङ्कलन गरेको तथ्याङ्कका आधारमा जन्मेदेखि ५९ महिनासम्मका बालबालिकाको सख्या करिब २६ हजार रहेकामा एक हजार ८०० भन्दा भढी बालबालिकामा कुपोषण देखिएको हो । योसँगै एक हजार १०२ जना गर्भवती एवं सुत्केरी महिला कुपोषणको जोखिममा परेको पाइएपछि नियन्त्रणका लागि खोज, उद्धार र उपचारमा अभियान नै सुरु गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सामाजिक संस्था एसिएफ इन्टरनेशनलसँगको सहकार्यमा स्वास्थ्यकर्मीसहित महिला स्वास्थ्य स्वयंसेविकालाई समेत तालीम दिएर रोग नियन्त्रण गर्न ‘पाखुराको नाप’ मार्फत बिरामीको खोजी र पत्ता लगाएकालाई रोग निधान गर्न प्रयास हुँदै आएको खोप अधिकृत अमृत महर्जनले बताउनुभयो ।

बालबालिकाले पर्याप्त खान नपाएर मात्र नभई उनीहरूले खाने खानाको सन्तुलन नमिलेर, छ महिनासम्मका बालबालिकाले पर्याप्त मात्रामा आमाको दूध खान नपाएर र अन्य रोगले संक्रमण गरेमा पनि कुपोषण रोग लाग्ने भएकाले त्यसतर्फ अभिभावक सचेत भएमा रोग लाग्नबाट बचाउन सकिने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 20 =