संगठित अपराधमा १९ बर्ष सजाय भोगेका व्यक्ति राष्ट्रपतिको उम्मेदवार !

काठमाडौं, असोज ७ । संगठित अपराध र कर्तब्य ज्यानसम्बन्धी कसुरमा सजाय भोगेका व्यक्ति पनि देशको सर्बोच्च पदमा पुग्ने गरी कानुन बन्ने तयारी हुँदैछ ।

सरकारले संसदमा ल्याएको विधेयकमा घुमाउरो भाषामा यस्तो व्यवस्था गरिएको छ । विधेयकमा प्रमुख दलहरुले पनि मौन सहमति जनाएका छन् ।

राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्यको निर्बाचन सम्बन्धी दुई छुट्टाछुट्टै विधेयकमा गम्भीर अपराधको सजाय भुक्तान गरेका व्यक्तिको पनि राजनीतिक भविष्य सुरक्षित गर्न खोजिएको छ ।

दुवै विधेयकको दफा १२ को उम्मेदवारको अयोग्यतासम्बन्धी व्यवस्थामा ‘संगठित अपराध सम्बन्धी कसुरमा कैदको सजाय पाई वा कर्तव्य ज्यानसम्बन्धी कसुरमा २० बर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले ६ बर्ष पूरा नभएको’ व्यक्ति उम्मेदवार बन्न योग्य नहुने उल्लेख छ ।

यो ब्यवस्थाअनुसार त्यस्ता अपराधमा सजाय भुक्तान गरी ६ बर्ष विताइसकेका ब्यक्ति राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्र सभा सदस्यको उम्मेदवार बन्न पाउने छन् । -नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *