कर्मचारीले लगाएको ताला फुटाउँदा वीपीमा तनाव

असोज ६, धरान । भदौं तेस्रो सातादेखि भ्रष्टाचार, अनियमितता र सेवाशुल्क वृद्धिको माग गर्दै आन्दोलनरत कर्मचारी कल्याण समाजले आज बिहान उपकूलपतिको कार्यकक्षमा तालाबन्दी गरेकोमा प्रतिष्ठान बाहिरबाट आएकाले ताला फुटाए पछि तनाव उत्पन्न भएको छ ।
समाजले बिहान प्रतिष्ठानका उपकूलपति डा. राजकुमार रौनियारले आफ्नाहरु सम्बोधन नगरेको प्रतिष्ठानलाई भष्टाचारको खाडलमा धकेलेको भन्दै धर्ना कार्यक्रम पश्चात् प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियार, रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, अस्पताल निर्देशक डा. गौरीसंकर शाह, शिक्षाध्यक्ष डा. बिक्रमप्रसाद श्रेष्ठको कार्याकक्षमा तालाबन्दी गरेका थिए । समाजले तालाबन्दी गरेको करिब आधा घण्टा पश्चात् नेपाल आदिवासी जनजाति महासङ्घ सुनसरीका अध्यक्ष सुवास चोङवाङको समूहमा आएका दुई दर्जन व्यक्तिहरूले ताला फुटाई दिएका हुन् ।
ताला फुटाउन, जनजाति महासङ्घका जिल्ला उपाध्यक्ष तारा शाक्य, धरान नगर अध्यक्ष चित्रराज थापा मगर, धरान १८ का वडाध्यक्ष प्रवीण राई, रिकभरिङ धरानका अध्यक्ष सन्तोष राई, धरान एकता समाजका अध्यक्ष सन्नी श्रेष्ठ लगायत दुई दर्जन व्यक्तिहरू आएका थिए । समाजले लगाएको ताला बाहिरबाट आएको समूहले फुटाएको भन्दै समाजमा आबद्ध कर्मचारीहरू आन्दोलित हुँदै अनिश्चितकालिन आमहड्ताल गर्ने चेतावनी दिँदै पुनः तालाबन्दी गरेका छन् ।
ताला लगाएका कर्मचारी कल्याण समाजका समाजका अध्यक्ष सुजेन्द्र तामाङले शान्तिपूर्ण आन्दोलन गरेको डेढ साता वितिसक्दा पनि भिसीले कुनै सम्बोधन नगरेपछि प्रतिष्ठानमा चारै जना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेकोमा उपकूलपतिले बाहिरका व्यक्तिहरू प्रयोग गरेर कर्मचारीलाई त्रसित पार्ने काम गरेको बताए ।
‘तालाबन्दी गरेको १५ मिनेट पछि नै बाहिरबाट आएका केही व्यक्तिहरूले ताला फुटाए ।’ उनले मकालु खबरसँग फोन सम्पर्कमा भने । उनले उपकुलपतिले नै बाहिरी शक्ति प्रयोग गरेको भन्दै ताला लगाएको १५ मिनेट नपुग्दै फुटाउनुमा उपकूलपतिकै हात रहेको जिकिर गर्दै भने । ‘प्रतिष्ठानको गेटबाहिर तैनाथ केही व्यक्तिहरू आएर ताला फुटाएको बुझिएको छ । शान्तिपूर्ण आन्दोलनलाई उपकुलपतिले बाहिरी शक्ति प्रयोग गरे ।’
उनले भने । शान्तिपूर्ण ढङ्गबाट गरिएको आन्दोलनलाई उपकूलपतिले ‘मान्छे’ लगाएर कर्मचारीहरूलाई नै त्रसित पार्न खोजेको उनको आरोप छ । ‘प्रतिष्ठानका कर्मचारीभित्र गुट उप गुट सृजना गर्ने, बाहिरका मान्छे लगाएर तर्साउन खोज्ने काम भएको छ । अब एक सुत्रिय माग उपकूलपतिको राजीनामा हुन्छ ।’ उनले भने ।
तामाङले ‘तालाबन्दी गर्न कोको आए ?’ भन्ने प्रश्नमा यकिनका साथ आफुहरुलाई थाहा नभएपनि ताला लगाएको १५ मिनेटमै फुटाउनुमा उपकूलपतिले बाहिरबाट मान्छे प्रयोग गरेको दाबी गरे । तामाङले आफूहरूले कुनै नाजायज माग नउठाएको जिकिर गर्दै उपकूलपतिले आफैँ भ्रष्टाचार गर्ने, आफैँ बाहिरी शक्ति प्रयोग गर्ने, प्रतिष्ठान अस्तब्यस्त गराउने काम गरेको आरोप लगाए । यता प्रतिष्ठानका उपकूलपति डा. राजकुमार रौनियारलाई यस विषयमा बुझ्न बारम्बार सम्पर्क गर्दा पनि उनले फोन उठाएनन् ।
प्रतिष्ठानको कर्मचारी तदर्थ समितिले ताला फुटाएको विषयमा विज्ञप्ति प्रकाशित गरेको छ । तदर्थ समितिका अध्यक्ष राजन प्रसाद कोइराला र दिलीप कुमार परियारद्वारा जारी विज्ञप्तिमा तालाबन्दी भन्दा पनि वार्ताद्वारा समस्याको समाधान खोज्न आग्रह गरिएको छ । प्रतिष्ठानले कर्मचारीका मागका सम्बन्धमा रजिष्ट्रार तुलबहादुर श्रेष्ठको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ ।
धरानबासी विभाजित
वीपी प्रतिष्ठान भित्रको विवादमा धरानबासीमा समेत मतभिन्नता देखिएको छ । धरानका पूर्व नगर प्रमुख देखि शिक्षासेवी र नागरिक समाज समेत विभाजित भएको छ । धरान एकता समाज, आदिवासी जनजाति महासङ्घ सुनसरी, रिकभरिङ धरान लगायतको एउटा समूहले उपकूलपति डा. रौनियारलाई समर्थन गर्दै आएको छ भने, राजेन्द्र शर्मा नेतृत्वको एउटा समूहले समाजको समर्थन गरेको छ । भने, प्रतिष्ठानकै विषयमा पूर्व प्रधानाध्यापक कमलप्रसाद पोखरेलको संयोजकत्वमा अर्को समिति गठन भएको छ । यसरी प्रतिष्ठानका विषयमा धरानबासी नै विभाजित भइरहँदा धरानबासी बिच नै मुठभेडको अवस्था सृजना भएको छ ।
विशेष गरी धरानका युवा समूह विभाजित हुँदै गर्दा उनीहरू बिच नै झडपको अवस्था देखा परेको छ । तथापि, प्रतिष्ठानको भ्रष्टाचारका विषयमा गठिन दबाब समितिका संयोजक राजेन्द्र शर्मा भने प्रतिष्ठानमा भएको अनियमितता, भ्रष्टाचार, राजनीतिका विरुद्धमा सबैले आ–आफ्ना तवरले काम गरेको भन्दै धरानबासी विभाजित नभएको जिकिर गरे । उनले प्रतिष्ठान भित्रको विवाद कांग्रेसी भित्रको विवाद भएको जिकिर गरे । उनले आफूहरूले वीपी प्रतिष्ठानसँग सरोकार राख्नेलाई एकै ठाउँमा बोलाएर एउटै भावना जागृत गराउने तयारी आफूहरूले गरेको बताउँदै समितिले केही दिनमै प्रतिष्ठानको विषयमा ठोस निर्णय गर्ने बताए ।
‘प्रतिष्ठानको मुख्य समस्या भनेको कांग्रेसीहरु बिचको लडाई हो । धरानबासी यसमा विभाजित हुनपर्ने अवस्था आउँदैन ।’ उनले भने । शर्माले प्रतिष्ठानको भ्रष्टाचारमा अख्तियारदेखि तल्लो तहसम्मको संलग्नता रहेको दाबी गर्दै विगतमा अख्तियारले अनुसन्धान गरेका विषयहरू गुपचुप रहनुको कारण पनि खोतल्नु पर्ने बताए ।
स्वास्थ्य मन्त्रालय बेखबर
देशभरका स्वास्थ्य संस्थाहरूको नियमन गर्ने निकाय स्वास्थ्य मन्त्रालय वीपी प्रतिष्ठानका विषयमा भने मौन बसेको छ ।प्रतिष्ठानमा दुई सातादेखि चलेको आन्दोलनका विषयमा स्वास्थ्यमन्त्री गिरीराजमणी पोखरेललाई सबै कुरा थाहा भए पनि उनले समस्या समाधानका लागि कुनै पहल गरेका छैनन् । आज मकालु खबरले वीपी प्रतिष्ठानमा देखिएको समस्याका विषयमा मन्त्री पोखरेलसँग जानकारी दिने कोसिस ग¥यो । स्वास्थ्यमन्त्रीको मोबाइलमा फोन गर्दा उनका एक स्वकीय सचिवले फोन उठाए । उनलाई वीपी प्रतिष्ठानको आन्दोलनको विषयमा मन्त्री ज्यू सँग कुरा गर्नुछ भनेर सोध्दा उनले भने–‘यो विषयमा त केही जानकारी छैन होला, मन्त्री ज्यू जरुरी मिटिङमा हुनुहुन्छ भरे कुरा गर्नुस् ।’
वीपी प्रतिष्ठानको आन्दोलनका विषयमा स्वास्थ्य मन्त्रालयका सचिवदेखि विभागका पदाधिकारीलाई पनि थाहा छैन । मन्त्रालयका एक कर्मचारीले आन्दोलन भएको कुरा थाहा भए पनि मुठभेड नै हुने अवस्थाको बारेमा थाहा नभएको बताए । ‘हामी लाई त खासै थाहा हुन्न मन्त्री ज्यूलाई नै सोध्नुस् ।’ एक सहसचिव लेवलका अधिकारीले भने ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *