माओवादी केन्द्रले घोराहीमा आज चुनावी सभा गर्दै

४ असार, घोराही । नेकपा माओवादी केन्द्र दाङले उम्मेदवारी दर्ताको दिन पारेर आइतवार जिल्लाका दशवटै स्थानीय तहमा चुनावी सभा गर्ने भएको छ । सभाहरुलाई केन्द्रीय नेताले सम्वोधन गर्ने जिल्ला निर्वाचन परिचालन समितिका संयोजक निर्मल आचार्यले जानकारी दिनुभयो ।
आचार्यका अनुसार, घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिमा हुने सभालाई बरिष्ठ नेता कृष्णबहादुर महराले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।
घोराहीको गुलरिया पार्कमा सभा आयोजना गरिएको छ । सभा अघि बालमन्दिरबाट जुलुस शुरु भर्इ बजार परिक्रमा गरेपश्चात गुलरियापार्कमा पुगेर सभा गर्ने कार्यक्रम तय गरिएको घोराही उपमहानगरका माओवादी अध्यक्ष विश्वराज आचार्यले जानकारी दिनुभयो ।

यसैगरी राप्ती गाउँपलिकाको भालुवाङमा हुने सभालाई केन्द्रीय सदस्य नारायण शर्मा पौडेल, केन्द्रीय सचिवालय सदस्य यसोदा सुवेदी, दामा शर्मा र केन्द्रीय सदस्य लुमबहादुर कार्कीले सम्बोधन गर्नेछन् ।
गढवा गाउँपालिकाको गढवामा हुने सभालाई पोलिटब्यूरो सदस्य निर्मल आचार्य र नारायणी शर्मा, राजपुरको गंगदीमा हुने सभालाई निर्मल आचार्य र लीला शर्मा तथा लमहीमा हुने र्यालीपछिको कोणसभालाई पोलिटब्यूरो सदस्य इन्द्रजीत चौधरीले सम्वोधन गर्ने कार्यक्रम रहेको छ । बंगलाचुलीको कमिरेचौरमा हुने सभालाई केन्द्रीय सदस्य सुवास पुनसहितले सम्वोधन गर्नेछन् ।
दंगीशरणको हेकुली, शान्तिनगरको चिराघाट र बबइ हंशपुरमा हुने सभालाई केन्द्रीय सचिवालय सदस्य रेखा शर्मा र कुवेरबहादुर ओलीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको माओवादी केन्द्र दाङले जनाएको छ ।
युवासंघका उपाध्यक्ष माओवादी केन्द्रमा
यसैबीच नेकपा एमाले निकट युवा संघ साविक लालमटिया गाविस उपाध्यक्ष विनोद बिसी, भोजसिंह सुनार, मीना सुनारलगायत २५ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरुलाई पोलिटब्यूरो सदस्य दामा शर्माले पार्टीमा स्वागत गरेकी थिइन् ।








