चुनावी सरगर्मीसँगै पार्टीहरुबीच झडप हुन थाल्यो


जेठ, १६ धरान । दोस्रो चरणको स्थानीय निकाय निर्वाचनको सरगर्मी बढेसँगै सुनसरीको धरानमा दलका नेता कार्यकर्ता बिच झडपको स्थिति उत्पन्न भएको छ ।
सोमबार मात्रै नेकपा एमाले र नेपाली काँग्रेसका कार्यकर्ताबीच सुनसरीको धरानमा झडप भएको हो । धरान–६ स्थित पानबारीमा चुनाव प्रचार–प्रसारका क्रममा दुवै पार्टीका कार्यकर्ताबीच भएको झडपमा एमालेका दुईजना र नेपाली काँग्रेसका एक जना कार्यकर्ता घाइते भएका थिए ।
झडपमा एमालेका निराजन थापामगर र अशोक लुङगेली मगरको टाउकोमा चोट लागेको छ भने नेपाली काँग्रेसका प्रकाश कुँवर घाइते भएका छन् । धरान–६ स्थित स्कुल डाँडामा चुनावी प्रचारका लागि सांस्कृतिक कार्यक्रम राखेको र त्यही क्रममा एमाले सुनसरीका सदस्य भीम राई ज्वालाले मन्तव्यका क्रममा ‘काँग्रेस गुण्डाहरुको पार्टी भनेपछि’ विवाद सुरु भएको काँग्रेस ६ नम्बर वडा सभापति प्रेम पौडेलले बताए ।
काँग्रेस कार्यकर्ताले कार्यक्रम रोक्न खोजेपछि एमाले कार्यकर्ता र काँग्रेसका कार्यकर्ताबीच झडप भएपछि तनाव उत्पन्न भएको थियो भने प्रहरीले साम्य पारेको थिए ।
यता एमालेका जिल्ला सदस्य भीम राई ज्वालाले भने काँग्रेसलाई आफूले गुण्डाहरुको पार्टी नभनेको बताएका छन् । राईले पश्चिम नेपालमा काँग्रेसले एमालेमाथि गुण्डागर्दी शैलीमा आक्रमण गरिरहेको कुरा मात्र बोलेको बताए ।
झडपमा परि घाइते भएकाहरुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।
धरानमा नेकपा एमाले र नेपाली काँग्रेस बिच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । पहिलो संविधानसभा निर्वाचनमा एमालेको लालकिल्ला तोड्न सफल भएको तत्कालीन नेकपा माओवादी दोस्रो संविधान सभामा तेस्रो हैसियतमा आएको थियो । भने, दोस्रो संविधानसभा निर्वाचनमा आफ्नो गुमेको किल्ला फर्काउन एमाले सफल भएको थियो । नेपाली काँग्रेसले दोस्रो स्थानमा चित्त बुझाएको थियो ।








