एनआरएन यूकेको अध्यक्षमा योगकुमार, उपमहासचिवमा विनयले मारे बाजी

लण्डन । शनिवार सम्पन्न एनआरएन यूकेको अध्यक्षमा योगकुमार फगामी विजयी भएका छन् ।  २६ सदस्यीय कार्यसमिति र ३ आइसिसी सदस्यमध्ये निर्बिरोध भएको महिला संयोजक बाहेक २८ ठाउँको लागि ५२ उम्मेद्वारबीच प्रतिस्पर्धा भएको थियो ।

निर्वाचनमा कार्यसमितिको अधिकांश पदाधिकारीमा फगामीकै प्यानल विजयी भएको थियो । अध्यक्ष निर्वाचित फगामीले १२ सय ९८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी कृष्ण तिमल्सेनाले ९ सय १२ मत पाएका थिए । त्यस्तै, अध्यक्षका अर्का उम्मेदवार हिराधन राईको पक्षमा  ५ सय ६० मत मात्र खस्यो । आज बिहान सम्पन्न मतगणना शनिवार मध्यरातबाट सुरु भएको थियो ।

नयाँ कार्यसमितिको ६ जना उपाध्यक्षको पदमा ११ जना उम्मेदवार उठेकोमा पुनम गुरुङ, शेर सुनार, डा प्रेम आले , सुशिला राई , ललित न्यौपाने र प्रेम गाहा विजयी भए । त्यस्तै, महासचिवमा आर के त्रिपाठी १०४० मत पाएर निर्वाचित हुँदा अन्य उम्मेद्वारहरु फडिन्द्र भट्टराई र खुसी लिम्बुले क्रमशः ८ सय २ र ६ सय ८२ मत प्राप्त गरेका थिए ।

त्यस्तै उपमहासचिवमा विनय अधिकारी र ३ सचिवमा तारानाथ भण्डारी, नारायण गाउँले र सुरोज मास्के निर्वाचित भए । कोषाध्यक्षमा सचिन श्रेष्ठ ७७९ मत ल्याएर विजयी भए । भने, उनका निकटतम प्रतिद्वन्दी महेश गिरी र सालिक सापकोटाले क्रमशः ६ सय ७० र ६०८ मत प्राप्त गरे । सहकोषाध्यक्षमा गजेन्द्र गुरुङ विजयी हुँदा युवा संयोजकमा लालबहादुर गुरुङ र कुमार थापा बाजी मारे ।

सदस्यका लागि १५ उम्मेदवार उठेकोमा अर्कराज तिमील्सिना, गङ्गाबहादुर राना , बिमला लिम्बु, डेबिन्द्र थापा, पवन राई , मुकेश राना , पवन शर्मा , होमनाथ पौडेल र जित बहादुर रानाभाट विजयी भए । भने, ३ आइसिसी सदस्यमा शान्ति थापा, जय प्रकाश गुरुङ र कुमारी गुरुङ निर्वाचित भए । शान्ति थापाले सबै उम्मेद्वारहरु मध्येकै बढी १८०७ मत प्राप्त गर्न सफल भइन ।

शनिवार बिहान ८ देखि साँझ ८ बजेसम्म भएको निर्वाचनमा ७८ दशमलव ४० प्रतिशत मतदान भएको थियो । कुल ३६ सय ७६ मतदातामध्ये २८ सय ८२ जनाले मतदान गरेका थिए । त्यस बाहेक पोस्टल माध्यमबाट स्कटल्याण्ड र वेल्सबाट आएका २३ मत गरी कुल २९ सय ५ मत गणना गरिएको थियो । अल्डर्सट, प्लमस्टिड, ह्यारो र लेस्टरस्थित ४ मतदान केन्द्रबाट मतदान भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − sixteen =