बुढिगण्डकी आयोजना बारे सरकारले गरेकाे निर्णयप्रति सांसदहरूकाे आपत्ति

असाेज ४, काठमाडाै । सत्तारुढ नेपाली काँग्रेसले बुढिगण्डकी जलविद्युत आयोजना निर्माण गर्ने जिम्मेवारी चीनको गेजुवा कम्पनीलाई दिने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । सत्तारुढ नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले स्वदेशी लगानीमै निर्माण सम्पन्न गर्ने भनिएको बुढिगण्डकी जलविद्युत आयोजना चीनको गेजुवा कम्पनीलाई दिने निर्णय गर्नुको कारण खुलाउन सरकारसँग माग गरेका छन् ।

व्यवस्थापिका संसद् सार्वजनिक लेखा समितिको बुधवार बसेको बैठकमा बोल्दै खतिवडाले पुष्पकमल दाहाल नेतृत्वको सरकारका तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माले राजीनामा दिँदै गर्दा सो आयोजनाको निर्माणको काम चीनको गेजुवा कम्पनीलाई दिने सम्झदारीबाट आफू आश्चर्यचकित भएको पनि उल्लेख गरे । १२ सय मेघावाट क्षेमताको बुढिगण्डकी जलविद्युत आयोजना निर्माणको काम चिनियाँ कम्पनीलाई दिने तत्कालीन ऊर्जा मन्त्री शर्माको निर्णय गत साउन ३१ गते बसेको मन्त्रीपरिषद बैठकले अनुमोदन गरेको थियो । सोही निर्णयप्रति आपत्ति जनाउँदै काँग्रेस सांसद खतिवडाले बुढिगण्डकी जलविद्युत आयोजना निर्माणको काम चिनियाँ कम्पनीलाई दिने निर्णयबारे समितिमा जानकारी गराउन पनि सरकारसँग माग गरे ।

नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले बुढिगण्डकी जलविद्युत आयोजना निर्माणको काम चिनियाँ कम्पनीलाई दिने निर्णयमा ठुलो आर्थिक चलखेल भएको भन्दै आपत्ति जनाएका थिए । उनले सरकार यो निर्णय प्रक्रियामा अपारदर्शी देखिएको आरोप पनि लगाएका थिए । सांसदहरुले निर्माणाधिन बुढिगण्डकी जलविद्युत आयोजना क्षेत्रका प्रभावित जनतालाई तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएका छन् ।

बुढिगण्डकी जलविद्युत आयोजना राष्ट्रिय गौरवको आयोजना हो । स्वदेशी लगानीमै निर्माण सम्पन्न गर्ने गरी अघि बढाइएको यो आयोजना तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माले चीनको गेजुवा कम्पनीलाई दिने समझदारी गरेपछि यो आयोजना निर्माणको काम अघि बढन सकेको छैन । यसैबिच सार्वजनिक लेखा समितिले प्रधानमन्त्री शेरबहादुर देउवासँग यो आयोजना चीनको गेजुवा कम्पनीलाई दिने समझदारीलाई अनुमोदन गर्नुको कारणबारे आवश्यक सोधपुछ गर्ने तयारी पनि गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *