सबैको चासो बनेको वीरगञ्ज महानगरमा मतगणना निकै सुस्त

काठमाडौं, असोज ४ । प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगञ्जमा मतगणना निकै सुस्त भएको छ । निर्वाचन आयोगले  पाँच दिन भित्र सबै स्थानीय तहको मत परिणाम आउने दाबी गरे पनि यहि गतिले यो अवधिमा परिणाम आउने सम्भावना निकै कम छ ।

महानगरपालिकामा मत गणना गर्न ६ टोली खटिएका छन् । राजनीतिक दलबिच कुरा नमिल्दा खटाइएका ११ टोली परिचालन गर्न नसकिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हुमानाथ पराजुलीले बताउनुभयो । उहाँका अनुसार मत गणना ढिलो र सुस्त हुनुमा राजनीतिक दल नै जिम्मेवार छन् ।

‘मतगणना भइरहेको ठाकुरराम बहुमुखी क्याम्पसमा ठूला ठूला कोठा छन् । यी कोठामा मत गन्न दुई तीन टोली राख्न सकिने भए पनि राजनीतिक दलले सहमति नजनाउँदा सुरु गर्न सकिएको छैन । अहिलेको गति अनुसार पाँच दिन भित्र परिणाम सार्वजनिक गर्न सकिँदैन’ उहाँले भन्नुभयो ।

तर टोली बढाउने बारे दलहरुसँग छलफल भइरहेकाले विस्तारै केही सुधार आउने उहाँको अपेक्षा छ । एक मात्र महानगरपालिका वीरगञ्जमा सुरक्षाका लागि तारजाली तथा सिसी क्यामरा जडान गरिएको छ । दलहरुसँग सहमति गर्न समय लाग्दा मंगलबार दिउँसो २ बजे पछि मात्रै गणना सुरु भएको थियो ।

सुरुमा दुई टोलीले गणना थालेकोमा अहिले ६ टोली पुगेको छ । अहिलेसम्मको मत गणनामा महानगरपालिकामा राजपा अगाडि छ । राजपालाई कांग्रेसले पछ्याइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =